२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

अमेरिकामा ‘सटडाउन’ सुरु: ट्रम्पको आप्रवासन नीतिले सरकारी कामकाज ठप्प

न्युयोर्क- आखिर जे डर थियो, त्यही भयो। अमेरिकामा सरकारी कामकाज आंशिक रूपमा ठप्प भएको छ। शनिबार मध्यरातबाट यो ‘सटडाउन’ लागु भएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति र सिनेटमा डेमोक्र्याट सांसदहरूबीचको झगडाले गर्दा बजेट पास हुन सकेन, जसको नतिजा अहिले सरकारी कार्यालयहरू बन्द हुने अवस्था आएको छ।

खासमा यो लफडाको मुख्य कारण मिनियापोलिसको घटना हो। त्यहाँ संघीय आप्रवासन एजेन्टको गोलीबाट दुई जना प्रदर्शनकारीको मृत्यु भएपछि डेमोक्र्याटहरू आगो भएका छन्। उनीहरूले सुरक्षा विभागलाई नयाँ बजेट दिन मानेनन्, जसले गर्दा अन्तिम समयमा वार्ता असफल भयो।

सिनेटर डिक डर्बिनले सामाजिक सञ्जालमा ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन्। उनले भनेका छन्— “लागुऔषध तस्कर र मानव बेचबिखन गर्नेहरूलाई समात्नुको साटो सरकारले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई निशाना बनाएर स्रोतसाधनको दुरुपयोग गरिरहेको छ।” यद्यपि, यो सटडाउनले जनजीवनमा धेरै ठुलो असर भने नपर्ने अपेक्षा गरिएको छ।