२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

क्यालिफोर्नियामा शक्तिशाली हिउँदे आँधीको वितण्डा: बाढीको चेतावनी, राजमार्ग अवरुद्ध

क्यालिफोर्नियामा शक्तिशाली हिउँदे आँधीको वितण्डा: बाढीको चेतावनी, राजमार्ग अवरुद्ध

लस एन्जलस- क्यालिफोर्निया राज्यमा सोमबार आएको शक्तिशाली हिउँदे आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ। भारी वर्षा, तीव्र हावाहुरी र उच्च हिमाली भेगमा भएको हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन्।

लस एन्जलस काउन्टीका लाखौँ बासिन्दालाई ‘फ्ल्यास फ्लड’ अर्थात् आकस्मिक बाढीको चेतावनी दिइएको छ। गत वर्षको डढेलोले नाङ्गो बनाएका पहाडी क्षेत्रमा पहिरो र लेदो बग्ने जोखिम उच्च रहेकाले अधिकारीहरूले मंगलबारसम्मका लागि ‘इभ्याकुएसन वार्निङ’ जारी गरेका छन्। लस एन्जलसकी मेयर करेन बासले आपतकालीन टोलीहरूलाई जुनसुकै बेला खटिन तयार रहन निर्देशन दिएकी छन्।

आँधीका कारण सोनोमा काउन्टीदेखि सिएरा नेभाडासम्मका सडक यातायात ठप्प भएका छन्। नेभाडाको सिमाना नजिकैको ‘आई–८०’ राजमार्गमा गाडीहरू चिप्लिएर दुर्घटना भएपछि दुवैतर्फको बाटो बन्द गरिएको छ। सान्ता बारबरा काउन्टीमा ‘युएस–१०१’ राजमार्गमा ठुलो रूख ढलेर बाटो अवरुद्ध भएको छ। मौसमविद्हरूले बुधबारसम्म सिएरा नेभाडा र सास्ता काउन्टीका पश्चिमी भेगमा ८ फिट (२.४ मिटर) सम्म हिउँ पर्न सक्ने बताएका छन्। भारी हिमपात र कम भिजिबिलिटीका कारण यात्रा नगर्न वा निकै सतर्क रहन सुझाव दिइएको छ।

यो आँधी लामो समयदेखिको ‘हिउँको खडेरी’पछि आएको हो। लस एन्जलस नजिकैका स्की रिसोर्टहरूले भने हिउँ परेकोमा खुसी व्यक्त गरेका छन्। यता क्यालिफोर्नियामा बाढीको त्रास हुँदा कोलोराडो, टेक्सास र क्यान्सस जस्ता राज्यहरूमा भने तीव्र हावा र सुख्खा मौसमका कारण आगलागीको उच्च जोखिमको चेतावनी दिइएको छ।

लस एन्जलसबाट करिब १३० किलोमिटर टाढा पर्ने राइटउडकी बासिन्दा काशावना म्याकइनर्नीले क्रिसमसको समयमा आएको आँधीले थुपारेको फोहोर अझै सफा गरिनसकेको बताइन्। उनले अहिलेको बाढी र लेदोबाट बच्न आफ्नो घरको ढोकामा काठ र धातुका बार लगाएकी छन्। मौसमविद्हरूले सान फ्रान्सिस्को तटीय क्षेत्रमा पनि बाढीको चेतावनी दिँदै मंगलबार असिना पर्न सक्ने पूर्वानुमान गरेका छन्।