फुटबल मैदानमा गाडी पस्दा दुई जनाको मृत्यु, चालक पक्राउ
- ०१ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क – अमेरिकाको क्यान्सस राज्यस्थित विचितामा फुटबल खेल भइरहेको मैदानमा तीव्र गतिको गाडी पस्दा एक बालकसहित दुई जनाको मृत्यु भएको छ। घटनामा अरू धेरै मानिस घाइते भएका छन्। गाडी चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार दिउँसो खेल चलिरहेको बेला अचानक गाडी दर्शक र खेलाडी भएको ठाउँमा पसेको थियो। घटनालगत्तै उद्धार टोली त्यहाँ पुगेको थियो। विचिता प्रहरीका अधिकारी आरोन मोसेसले घटनास्थलमै दुई जनाको ज्यान गएको र घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको बताए।
प्रहरीले चालकलाई नियन्त्रणमा लिइसकेकाले अब सर्वसाधारणलाई कुनै खतरा नरहेको बताएको छ। चालकले जानीजानी गाडी मैदानमा हुइँक्याएका हुन् वा कुनै प्राविधिक समस्याले यस्तो भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।