२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

मध्यपूर्वको तनावले नेपाली अर्थतन्त्रमा संकट आउन सक्ने चेतावनी

मध्यपूर्वको तनावले नेपाली अर्थतन्त्रमा संकट आउन सक्ने चेतावनी

काठमाडौं – मध्यपूर्वमा बढ्दै गएको तनावका कारण नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा गम्भीर संकट पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै जानकारहरूले सरकारलाई तत्काल पूर्वतयारी थाल्न आग्रह गरे।

नेपालमा भित्रिने रेमिट्यान्स र इन्धनको मुख्य स्रोत नै मध्यपूर्वी देशहरू हुन्। अमेरिका, इजरायल र इरानबीचको तनावले विश्वभर ऊर्जा संकट चुलिन सक्ने र यसको सिधा असर नेपालजस्ता आयातमा निर्भर देशलाई पर्ने देखिएको छ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अब नेपालले खाद्य र ऊर्जा सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए। “पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात राख्न र व्यवस्थापनमा जुट्न ढिलो गर्नु हुँदैन,” उनले भने। नेपाल इन्धनका लागि पूर्ण रूपमा भारतमा निर्भर रहेकाले त्यहाँ अभाव हुँदा नेपालमा स्वतः असर पर्ने उनले स्पष्ट पारे।

श्रम विज्ञ रामेश्वर नेपालले मध्यपूर्वमा रहेका झण्डै २० लाख नेपाली श्रमिकको सुरक्षामा चुनौती थपिएको बताए। द्वन्द्व बढ्दै जाँदा नेपालीको रोजगारी गुम्ने र रेमिट्यान्स घट्ने डर छ। सरकारले त्यहाँ रहेका नेपालीलाई ‘सुरक्षित बस’ भनेर मात्र पुग्ने अवस्था नरहेको र आवश्यक परे उद्धारका लागि तयार हुनुपर्ने उनको भनाइ छ।

अहिले दैनिक १५ सयभन्दा बढी युवा रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन्। मध्यपूर्वमा युद्धको अवस्था आएमा नेपालीको चुलोचौको समेत प्रभावित हुन सक्ने भन्दै सेजनका अध्यक्ष भागवत भट्टराईले सरकारलाई यसबारे गम्भीर हुन झक्झक्याएका छन्।