२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

इरानमा सैन्य कारबाही रोक्नेबारे ट्रम्पको विचार, रणनीतिमा देखियो अन्योल

इरानमा सैन्य कारबाही रोक्नेबारे ट्रम्पको विचार, रणनीतिमा देखियो अन्योल

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य कारबाही अन्त्य गर्नेबारे विचार गरिरहेको बताएका छन्। सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले अमेरिका आफ्नो सैन्य उद्देश्य पूरा गर्ने बिन्दुको निकै नजिक पुगेको उल्लेख गरेका हुन्। यद्यपि, उनले पत्रकारहरूसँग कुरा गर्दा भने तत्काल ‘युद्धविराम’ गर्ने पक्षमा आफू नरहेको विरोधाभासपूर्ण अभिव्यक्ति दिएका छन्।

ट्रम्पले “अर्को पक्षलाई पूर्ण रूपमा समाप्त पारिरहेको बेला युद्धविराम नहुने” जिकिर गरे पनि पेन्टागनभित्र भने फरक तयारी भइरहेको बुझिएको छ। बीबीसीको साझेदार संस्था सीबीएसका अनुसार अमेरिकी सैन्य अधिकारीहरूले इरानमा ‘स्थल सेना’ (Ground Troops) उतार्ने योजनाका लागि विस्तृत तयारी गरिरहेका छन्। यस योजनामा इरानी सैनिकहरू पक्राु परेमा उनीहरूलाई कसरी हिरासतमा राख्ने भन्ने विषयमा समेत छलफल भएको स्रोतहरूले जनाएका छन्।

यसैबीच, ट्रम्पले विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने महत्त्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’ जलमार्गको सुरक्षाको जिम्मेवारी अब अन्य राष्ट्रहरूले लिनुपर्ने बताएका छन्। उनले अमेरिका मात्रै यसको रक्षक नरहेको स्पष्ट पारेका छन्। ऊर्जा बजारमा बढ्दो दबाबलाई कम गर्न अमेरिकाले समुद्रमा रहेका इरानी तेलमाथिको प्रतिबन्ध ३० दिनका लागि अस्थायी रूपमा हटाएको छ। यस कदमबाट विश्व बजारमा करिब १४ करोड ब्यारेल तेल आउने र मूल्य वृद्धिलाई नियन्त्रण गर्न मद्दत पुग्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताएका छन्।

बेलायतले पनि इरानका सैन्य अड्डाहरूमा आक्रमण गर्न अमेरिकालाई आफ्नो सैन्य आधार प्रयोगको अनुमति दिएको छ। यसको प्रतिवाद गर्दै इरानले आफ्नो आत्मरक्षाको अधिकार प्रयोग गर्ने चेतावनी दिएको छ। इरानी विदेशमन्त्रीले बेलायती प्रधानमन्त्री किअर स्टार्मरलाई आफ्ना नागरिकको जीवन खतरामा पारेको आरोप समेत लगाएका छन्।