न्युयोर्कमा इनिशा विकको सम्झनामा दीप प्रज्वलन, न्यायको माग
- १० चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको सम्झना र न्यायको माग गर्दै अमेरिकाको न्युयोर्कमा दीप प्रज्वलनसहित शोक सभा भएको छ। मार्च २१ शनिबार साँझ न्युयोर्कको ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा भेला भएका नेपालीहरूले न्यायका लागि सामूहिक आवाज उठाएका हुन्।
गत मार्च ६ तारिखमा सुर्खेतमा इनिशाको हत्या भएको थियो। उनको सम्झनामा “सँगै प्रार्थना गरौँ, न्यायका लागि लडौँ” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले हातमा मैनबत्ती लिएर इनिशाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

समाजसेवी दिनेश सेन्चुरी र साहित्यकार जीवनदास सुनारको संयोजनमा भएको उक्त कार्यक्रमको सञ्चालन चमेली परियार खातीले गरेकी थिइन्।
शोक सभामा डा. विष्णुमाया परियार, फिप्ना अध्यक्ष तोरण गुरुङ, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने, स्टेट एसेम्बली उम्मेदवार तथा जिपिके फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, पत्रकार मच्छे गुरुङ र नवराज केसी लगायतका वक्ताहरूले आफ्नो भनाइ राखेका थिए। उनीहरूले शोकको घडीमा समुदायलाई एकताबद्ध हुन र न्याय प्राप्तिको लडाइँमा साथ दिन आह्वान गरे।

बेगम पण्डित,न्युयोर्क संवाददाता