अमेरिकाको न्युजर्सी राज्यस्थित प्याटरसनमा रहेको एउटा पुरानो केमिकल कारखानामा भीषण आगलागी भएको छ। राति साढे ११ बजेतिर सुरु भएको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरूलाई कैयौँ घण्टा लागेको थियो। शनिबार दिनभर पनि भग्नावशेषबाट धुवाँ उडिरहेको थियो।
करिब २० वर्षदेखि बन्द रहेको उक्त कारखानामा आगो लाग्दा बिजुलीका तारहरू जलेका छन्। यसले गर्दा वरपरका केही घरहरूमा बिजुली काटिएको छ। अग्नि नियन्त्रक उपप्रमुख माइकल क्लिनपुटले पानीको चाप एकदमै कम भएको र एउटा मात्र पानीको धारा चालू अवस्थामा रहेकाले आगो निभाउन धेरै समय लागेको बताए।
वर्षौंदेखि खाली रहेको उक्त भवनमा ग्यासको लाइन चालू नै रहेको भेट्दा आफूहरू छक्क परेको क्लिनपुटले बताए। पछि उक्त ग्यास लाइन बन्द गरिएको थियो। आगलागीका कारण नजिकै रहेको गाडी पसलका दुईवटा कारसमेत जलेर नष्ट भएका छन् भने वरपरका बासिन्दाले घर छोडेर भाग्नुपरेको थियो।
अधिकारीहरूका अनुसार एक वर्षअघि नै उक्त कारखानाबाट सबै रसायनहरू हटाइएकाले हावामा कुनै विषालु ग्यास फैलिने खतरा छैन। अब उक्त भवनको बाँकी भाग भत्काइने र आगलागी कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको बताइएको छ।