२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

जागिर गुमाएको रिसमा भवनमा आगो लगाउँदा चार जनाको मृत्यु

जागिर गुमाएको रिसमा भवनमा आगो लगाउँदा चार जनाको मृत्यु

न्युयोर्क- अमेरिकाको क्विन्समा जागिर गुमाएको रिसमा एक व्यक्तिले जथाभावी एउटा भवनमा आगो लगाउँदा तीन वर्षीय बालिकासहित चार जनाको मृत्यु भएको छ।

गत मार्च १६ मा एभरी एभिन्यूमा रहेको उक्त तीनतले भवनमा ३८ वर्षीय रोमन अल्माटिटलाले आगो लगाएका थिए। अभियोग पत्रका अनुसार, जागिर गुमाएपछि रिसाएका उनले रिस पोख्न सो भवन छानेका थिए। आगो लगाएपछि उनी बाहिर बसेर बियर पिउँदै भवन जलेको हेरिरहेका थिए।

आगलागीबाट बच्न झन्डै आधा दर्जन मानिस झ्यालबाट हाम फालेका थिए। तीमध्ये एक जनाको टाउकोमा चोट लागेर र अन्य तीन जनाको धुवाँले निसास्सिएर ज्यान गएको हो। झ्यालबाट हाम फाल्ने अन्य व्यक्ति र दुई जना अग्नि नियन्त्रक घाइते भएका छन्।

अल्माटिटलामाथि हत्या र आगजनीलगायतका अभियोग लगाइएको छ। अधिकारीहरूका अनुसार जुन तलामा मानिसहरूको मृत्यु भयो, त्यहाँ बस्न अनुमति थिएन। उक्त भवनमा यसअघि पनि ५० भन्दा बढी पटक नियम उल्लंघन भएको पाइएको थियो।