न्युयोर्कका मेयरले रोके विद्यालय वरपर प्रदर्शन गर्न नपाइने विधेयक
- १२ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क – न्युयोर्क सहरका मेयर जोहरान मामदानीले विद्यालय र शैक्षिक संस्था वरपर प्रदर्शन गर्न नपाइने (बफर जोन) नियम लागु गर्ने एउटा विधेयक अस्वीकार गरेका छन्। आफ्नो सय दिनको कार्यकालमा उनले पहिलोपटक कुनै विधेयकमा भिटो (विशेषाधिकार) प्रयोग गर्दै त्यसलाई रोकेका हुन्।
मेयर मामदानीले यो विधेयकले संवैधानिक अधिकार खुम्च्याउने र ‘शैक्षिक संस्था’ को परिभाषाभित्र संग्रहालय, पुस्तकालय र अस्पतालसमेत पर्ने भएकाले यसलाई रोकेको बताए। मजदुर युनियनहरूले पनि यसमा चिन्ता जनाएका थिए। मेयरको यो कदमलाई नागरिक अधिकारकर्मीले स्वागत गरेका छन्। तर, विधेयकका समर्थक र विशेषगरी यहुदी समुदायले भने निराशा व्यक्त गरेका छन्।
नगर परिषद्की सभामुख जुली मेनिनले सुरक्षा र प्रहरीको जवाफदेहिताका लागि यो कानुन ल्याइएको बताइन्। पछिल्लो समय इजरायल-गाजा द्वन्द्वलाई लिएर कोलम्बिया विश्वविद्यालयलगायतका ठाउँमा ठूला प्रदर्शन भएपछि यस्तो कानुनको माग उठेको थियो।
अब नगर परिषद्ले मेयरको भिटोलाई कसरी सामना गर्ने भनेर छलफल गर्नेछ। यद्यपि, धार्मिक स्थल वरपर प्रदर्शन गर्न नपाइने अर्को विधेयक भने अघि बढ्ने भएको छ।