२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

इरानको शान्ति प्रस्तावमा अमेरिका असन्तुष्ट, आणविक कार्यक्रम मुख्य बाधक

इरानको शान्ति प्रस्तावमा अमेरिका असन्तुष्ट, आणविक कार्यक्रम मुख्य बाधक

न्युयोर्क- इरानले आर्थिक नाकाबन्दी हटाए युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी खोल्ने प्रस्ताव पठाए पनि अमेरिकाले त्यसमा खासै चासो देखाएको छैन। इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल रोक्न खोजेपछि अमेरिका असन्तुष्ट बनेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यो प्रस्ताव तत्काल स्वीकार गर्ने सम्भावना कम देखिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै पनि सम्झौताले इरानलाई आणविक हतियार बनाउनबाट रोक्नैपर्ने बताए। पाकिस्तानमार्फत आएको इरानको प्रस्तावमा शंका गर्दै उनले इरानी नेताहरुले समय लम्ब्याउन मात्र खोजेको आरोप लगाए। ह्वाइट हाउसको सुरक्षा टोलीले यसबारे छलफल गरिरहेको छ र ट्रम्पले पछि औपचारिक प्रतिक्रिया दिनेछन्। इरानका विदेशमन्त्री अब्बास अराघचीले मस्को भ्रमणपछि यो प्रस्ताव सार्वजनिक गरेका हुन्।

यसैबीच युद्धका कारण मानवीय क्षति लगातार बढिरहेको छ। हालसम्म इरानमा ३ हजार ३७५ र लेबनानमा २ हजार ५२१ जनाको ज्यान गइसकेको छ। इजरायलमा २३ जना, खाडी देशमा एक दर्जनभन्दा बढी नागरिक मारिएका छन्। त्यस्तै, १६ इजरायली सैनिक, १३ अमेरिकी सैनिक र ६ जना राष्ट्रसंघका शान्तिरक्षकको पनि मृत्यु भएको छ।

अमेरिकी अधिकारी एलिसन हुकरले हर्मुज जलघाँटीमा इरानको गतिविधिलाई अवैध भन्दै विश्वले ऊर्जा सुरक्षा र आपूर्तिमा ध्यान दिनुपर्ने बताइन। विदेशमन्त्री रुबियोले पनि इरानको आणविक चाहना नै अहिलेको सबैभन्दा ठूलो समस्या र चिन्ताको विषय भएको दोहोर्‍याए।