११ कार्तिक २०८३, बुधबार
28 October 2026, Wednesday

कतारका राजासँग राष्ट्रपतिले गर्नुभयो विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

कतारका राजासँग राष्ट्रपतिले गर्नुभयो विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा कतारका राजासँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गर्नुभएको हो। कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न काठमाडौं आइपुग्नुभएको थियो।

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन्। सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताउनु भएको थियो।