८ साउन २०८३, शुक्रबार
24 July 2026, Friday

असदको पतनलगत्तै सिरियामा अमेरिकाको बमबारी

असदको पतनलगत्तै सिरियामा अमेरिकाको बमबारी

न्युयोर्क- सिरियामा बसर अल असदको शासन पतन भएलगत्तै अमेरिकाले त्यहाँ दर्जनौँ पटक बमबारी गरेको छ। इस्लामिक स्टेटलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ।

सो कमान्डका अनुसार ७५ निसानामा आक्रमण गरिएको हो। असदको शासन अन्त्य भएपछि इस्लामिक स्टेटले त्यसको फाइदा उठाउन नपाओस् भनेर आक्रमण गरिएको सेन्ट्रल कमान्डले जनाएको छ।

आक्रमणपछि त्यसले गरेको क्षतिको मूल्यांकनको काम भइरहेको पनि सो कमान्डले जनाएको छ। बमबारीमा बी–५२ स्ट्राटोफोर्टे्रस र एफ–१५ इगल विमान प्रयोग गरिएको थियो।

‘सिरियाको वर्तमान अवस्थाको फाइदा उठाउने मौका हामी आईएसआईएसलाई दिन सक्दैनौँ, यसमा कुनै सन्देह छैन,’ सेन्ट्रल कमान्डका कमान्डर जर्नेल माइकल एरिक कुरिलाले एक विज्ञप्तिमा भनेका छन्।

राष्ट्रपति जो बाइडेनले भने असदलको पतन सिरियाका जनताको नयाँ भविष्य निर्माण गर्ने मौका भएको बताएका छन्। अमेरिकाका अलावा इजरायलले पनि सिरियामा बमबारी गरेको छ।