२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

अस्ट्रेलियामा बाढीका कारण हजारौं जनाले घर छाडेर भागे

अस्ट्रेलियामा बाढीका कारण हजारौं जनाले घर छाडेर भागे

अस्ट्रेलियामा बाढीका कारण हजारौं जनाले घर छाडेर भागेका छन् ।

उत्तरी क्वीन्सल्यान्डमा भीषण वर्षाका कारण बाढी आएपछि एक जना महिलाको ज्यान गएको र हजारौं जना घरबार छाडेर भाग्न बाध्य भएका बीबीसीले जनाएको छ । अधिकारीहरूले बाढीको पानी घरको दोस्रो तलासम्म पुग्नसक्ने चेतावनी पनि दिएका छन् ।

गएको २४ घण्टामा उत्तरी क्वीन्सल्यान्डका केही भागहरूमा ७ सय मिलिमिटरभन्दा धेरै वर्षा भएको र भोलिसम्म वर्षा भइरहने स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

मौसमविद्हरूले क्वीन्सल्यान्ड क्षेत्रमा ६० वर्षयताकै सबैभन्दा ठूलो बाढी आउने सक्ने चेतावनी दिएका छन् । टाउन्सभिल शहरमा बसोवास गर्ने हजारौं मानिसलाई दिउँसो नै घर छाड्न आदेश जारी भएको थियो ।

सरकारी कर्मचारीले बाढीलाई रोक्नका लागि बालुवाले भरिएका १ लाख वटा बोरा तयार पारेका छन् । बाढीका कारण टाउन्सभिल र केन्र्सको पर्यटक केन्द्रबीचको सडकको केही भाग काटिएको र उद्धार टोलीहरूले यस क्षेत्रमा बालुवाले भरिएको बोरा ल्याउने प्रयासमा बाधा पुगेको छ ।