२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय स्वदेश पुगे

अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय स्वदेश पुगे

न्युयोर्क- अमेरिकाले आफ्नो देशमा अवैध रूपमा रहेका केही भारतीय आप्रवासीलाई उनीहरूकै देशमा पुर्‍याइदिएको छ ।

भारतीय आप्रवासी बोकेको अमेरिकी सेनाको जहाज आज दिउँसो पञ्जाब प्रान्तको अमृतसरमा रहेको श्री गुरू रामदास जी अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गरेको बीबीसी हिन्दीले जनाएको छ । विमानमा ७९ पुरुष, २५ महिला र १३ बालबालिका गरी १ सय १७ जना आएका भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ११ जना चालक दलका सदस्य रहेको विमानमा ४५ जना अमेरिकी अधिकारी पनि आएका थिए ।

भारत ल्याइएका आप्रवासीहरू पञ्जाब, गुजरात, हरियाणा, उत्तर प्रदेश र महाराष्ट्र प्रदेशका रहेका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हालेसँगै अमेरिकाले गैरकानूनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्य तीव्र पारेको छ । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै अवैध आप्रवासीहरूलाई ‘डिपोर्ट’ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा अवैध रूपमा रहेका भारतीय नागरिकको न्यायसङ्गत फिर्तीका लागि तयार रहेको बताएका थिए।

अमेरिकाले यसअघि आफ्दो देशमा रहेका अवैध आप्रवासीमध्ये १७ हजार ९ सय ४० जना भारतीयलाई फर्काउने भन्दै सूची सार्वजनिक गरेको थियो । पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा झन्डै ७ लाख २५ हजार कागजविहीन भारतीय आप्रवासी छन् ।