२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को ट्रस्टी निर्वाचन सम्पन्न

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को ट्रस्टी निर्वाचन सम्पन्न

न्युयोर्क- मेरिल्याण्ड राज्यस्थित बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रस्टीको निर्वाचन सम्पन्न भएको छ।निर्वाचनबाट अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा प्रभु राम थापा विजयी भएका छन्।

बाना, मेरिल्याण्ड राज्यको एक प्रमुख छाता संगठन तथा अमेरिकाभर क्रियाशील नेपाली संघसंस्थामध्ये एक प्रभावशाली संस्था हो। हालै सम्पन्न ट्रस्टी निर्वाचनमा पूर्व अध्यक्ष, कलाकार तथा व्यवसायी अनुशुया श्रेष्ठ वन्त (उपाध्यक्ष) र सुर्योदया तिम्सिना (सचिव) निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, रिना केसी, जनक पौडेल, र सुशिला महत ट्रस्टी सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका अध्यक्ष सुबोध विलास पन्त, बाना ट्रस्टीका अध्यक्ष कुल आचार्य, एएनएका वर्तमान अध्यक्ष खगेन्द्र अधिकारी लगायतका व्यक्तित्वहरूले नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिएका छन्।

यस निर्वाचनमा सुबोध विलास पन्त समितिका संयोजक रहेका थिए भने सदस्यहरूमा लक्ष्मी भारती र सागर घिमिरे थिए। अधिकांश पदमा निर्विरोध निर्वाचित भए पनि अध्यक्ष पदका लागि मतदान भएको थियो।

मतदान प्रक्रियामा ११६ मतदातामध्ये ९७ मत प्राप्त गर्दै प्रभु राम थापा अध्यक्ष पदमा विजयी भएका हुन भने उनका प्रतिस्पर्धी महेन्द्र देशारले १९ मत मात्र प्राप्त गरेका थिए। थापाले झण्डै पाँच गुणा बढी मत ल्याउँदै स्पष्ट बहुमत हासिल गरेका छन्।

नव-निर्वाचित पदाधिकारीहरूले संस्थालाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै समाज सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।