वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार स्पष्ट शब्दमा भनेका छन् कि यदि इरानले फेरि परमाणु हतियार निर्माणतर्फ उन्मुख हुने प्रयास गर्यो भने संयुक्त राज्य अमेरिका निसन्देह आक्रमण गर्नेछ।
पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले भने, “पक्कै पनि। कुनै प्रश्नै छैन। यदि उनीहरूले फेरि त्यस बाटो लिने संकेत दिए भने, हामीले फेरि प्रहार गर्नेछौं।”
ट्रम्पले यसअघि पनि यस्तै चेतावनी दिएका थिए। यसै साता नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले भनेका थिए, “इरानले परमाणु कार्यक्रम पुनः सुरु गर्ने संकेत दिएमा अमेरिका दोहोरिएको छैन, सिधै कारबाही हुनेछ।”
इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले बिहीबार इजरायलमाथिको युद्धमा विजय प्राप्त गरेको दाबी गरेपछि ट्रम्पले तीव्र प्रतिक्रिया दिएका छन्।
ट्रम्पले Truth Social मा लेखे, “मलाई ठीक थाहा थियो उनी कहाँ लुकेका थिए, तर मैले इजरायल वा अमेरिकी सेनालाई उनीमाथि प्रहार गर्न दिएनँ। मैले उनलाई एकदमै कुरूप र लज्जास्पद मृत्युबाट बचाएको हुँ।”
उनले व्यङ्ग्यात्मक शैलीमा थपे, “खामेनीले ‘धन्यवाद राष्ट्रपति ट्रम्प’ भन्नु नपरे पनि, म उनलाई बाँच्न दिएँ।”
यद्यपि कठोर शब्दहरू प्रयोग गरे पनि ट्रम्पले अन्त्यमा शान्तिको सन्देश पनि दिए। उनले लेखे, “इरानी नेतृत्वले बुझोस् कि कहिले काँही ‘मह’ (मिठास) बाट धेरै कुरा हासिल गर्न सकिन्छ, न कि ‘सिरका’बाट। शान्ति!!!”
पछिल्लो शनिबार राति अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरूमा व्यापक आक्रमण गरेको पुष्टि भएको छ। संयुक्त सैन्य प्रमुख जनरल ड्यान केनका अनुसार सो कारबाहीमा १२५ भन्दा बढी अमेरिकी विमानहरू संलग्न थिए।
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने, “यी आक्रमणहरूद्वारा ती साइटहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन्।”
तर केही दिनपछि रक्षा गुप्तचर एजेन्सी (DIA)को एक लीक रिपोर्टले ट्रम्पको दाबीमा प्रश्न उठाएको छ। CNN र The New York Times द्वारा प्रकाशित उक्त रिपोर्टमा भनिएको छ कि ती आक्रमणहरूले इरानको कार्यक्रमलाई केही महिना मात्र पछि सारेको हो, पूर्ण रूपमा ध्वस्त पारेको होइन।
रक्षा मन्त्री पिट हेगसेथका अनुसार उक्त लीक भएको प्रतिवेदन कसले सञ्चारमाध्यमलाई दिएको भन्नेबारे एफबीआईले अनुसन्धान सुरु गरिसकेको छ।
ट्रम्प प्रशासनले इरानलाई परमाणु हतियार निर्माण गर्ने कुनै पनि सम्भावित प्रयासप्रति जीरो टोलरेन्स नीति लिएको छ। शब्दमा मात्र होइन, सैन्य कारबाहीद्वारा पनि सन्देश प्रष्ट पारिएको छ। यद्यपि, आन्तरिक गुप्तचर प्रतिवेदनहरू र सार्वजनिक अभिव्यक्तिहरूबीचको विरोधाभासले ट्रम्पको दाबीको विश्वसनीयता माथि प्रश्न खडा गरेको देखिन्छ।