३० जेष्ठ २०८३, शनिबार
13 June 2026, Saturday

डेनमार्कमा महिलाहरू पनि अब अनिवार्य सैन्य सेवाको लट्रीमा सामेल हुने

डेनमार्कमा महिलाहरू पनि अब अनिवार्य सैन्य सेवाको लट्रीमा सामेल हुने

डेनमार्क- डेनमार्कमा अब महिलाहरूले पनि १८ वर्ष पुगेपछि ११ महिनासम्म अनिवार्य सैनिक सेवा गर्नुपर्ने व्यवस्था लागू भएको छ। नयाँ कानुनअनुसार, महिलाहरू पनि पुरुषहरूसँगै लट्री प्रणालीमा सामेल हुनेछन्, जसबाट उनीहरूलाई सैन्य सेवामा बोलाउन सकिनेछ।

यसअघि महिलाहरूले स्वेच्छिक रूपमा मात्र सैनिक सेवा गर्न सक्थे। अबदेखि १८ वर्ष पुगेका सबै युवायुवतीले आफ्नो विवरण दर्ता गर्नुपर्नेछ र उनीहरूको मूल्याङ्कनपछि पहिले स्वेच्छिकलाई छनोट गरिनेछ, बाँकी संख्या लट्रीमार्फत पूर्ति गरिनेछ।

यो परिवर्तनपछि सैनिक सेवाको अवधि पनि ४ महिनाबाट ११ महिनामा बढाइएको छ। सन् २०२४ मा करिब ४,७०० जना (जसमा २४% महिला) ले छोटो अवधिको सैनिक सेवा गरेका थिए। यो संख्या २०३३ सम्ममा ६,५०० पुर्‍याउने लक्ष्य छ।

स्वीडेन र नर्वेले पहिले नै महिलाहरूको लागि अनिवार्य सैनिक सेवा लागू गरिसकेका छन्। डेनमार्क सरकारले सुरक्षा अवस्थाको चापका कारण सैन्य शक्ति बढाउने उद्देश्यले यो निर्णय लिएको हो। सरकारले आगामी ५ वर्षमा रक्षा खर्चमा ४०.५ अर्ब डेनिस क्रोन (झण्डै \$५.९ अर्ब) थप्ने घोषणा पनि गरेको छ।

डेनिश सेनाका कन्स्क्रिप्सन कार्यक्रम प्रमुख कर्नेल केनेथ स्ट्रोमका अनुसार यो निर्णय सुरक्षा आवश्यकतालाई ध्यानमा राखेर गरिएको हो, जसले सेना, नौसेना, वायुसैनिक वा विशेष बलहरूका लागि आवश्यक सीप विकास गर्न मद्दत गर्नेछ।

स्वयंसेवकका रूपमा कार्यरत क्याट्रिन नामकी एक युवतीले समाचार एजेन्सी *Reuters* सँग भनेकी छिन्, “आजको विश्व अवस्था हेर्दा महिला र पुरुष दुवैको समान योगदान आवश्यक छ, यो परिवर्तन सकारात्मक छ।”