२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अमेरिकाको न्याय विभागले आपराधिक गतिविधिमा संलग्न अमेरिकी नागरिकहरूको नागरिकता खारेज गर्न निर्देशन जारी

अमेरिकाको न्याय विभागले आपराधिक गतिविधिमा संलग्न अमेरिकी नागरिकहरूको नागरिकता खारेज गर्न निर्देशन जारी

वासिङटन- अमेरिकी न्याय विभागले अमेरिकी वकिलहरूलाई आपराधिक क्रियाकलापमा संलग्न भएका प्राकृतिकृत नागरिकहरूमाथि नागरिकता खारेजी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। ट्रम्प प्रशासनको अपराध नियन्त्रण अभियानको हिस्सा स्वरूप यो निर्देशन गरिएको हो।

सहायक महान्यायाधीवक्ता ब्रेट शुमेटद्वारा जारी ११ जुनको निर्देशिकामा भनिएको छ कि राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउने — जस्तै आतंकवाद, जासुसी, अवैध प्रविधि वा गोप्य वस्तुहरूको निर्यात —सँग सम्बन्धित व्यक्तिहरू प्रमुख प्राथमिकता हुन्।

शुमेटले लेखेका छन्, “नागरिकता खारेज गरिनुका फाइदाहरूमा युद्ध अपराध, गैरन्यायिक हत्या, गम्भीर मानवअधिकार उल्लङ्घनमा संलग्न व्यक्तिहरूलाई अमेरिकाबाट हटाउन सकिनेछ। साथै, अपराधी, गिरोह सदस्य वा आतङ्ककारीलाई अमेरिकाबाट बाहिर राख्न र अमेरिकी राहदानीको दुरुपयोगबाट रोक्न सकिन्छ।”

निर्देशनअनुसार, यदि कसैले नागरिकता “अवैध रूपमा प्राप्त गरेको” वा “सत्य विवरण लुकाएर वा झूटो विवरण दिएर नागरिकता लिएको” पाइएमा, न्याय विभागले नागरिकता खारेजीको मुद्दा दायर गर्न सक्छ।

न्याय विभागले खासगरी निम्न प्रकारका अपराधहरूमा संलग्नहरूलाई निशाना बनाउनुपर्ने बताएको छ:

-मानव तस्करी, यौन अपराध र हिंसात्मक अपराधहरू
-सरकारविरुद्ध आर्थिक ठगी (PPP ऋण वा मेडिकेड/मेडिकेयरमा ठगी)
-आपराधिक गिरोह, ट्रान्सन्यासनल अपराध संगठन वा लागूऔषध कार्टेलसँग सम्बन्धित व्यक्ति
-निजी व्यक्तिहरू, संस्था वा कोषहरू विरुद्ध ठगी गर्नेहरू

निर्देशन जारी भएको दुई दिनपछि न्याय विभागले बाल यौन दुर्व्यवहार सामग्री संकलन तथा वितरणको अभियोगमा दोषी ठहरिएको एक व्यक्तिको नागरिकता खारेज गरिएको जानकारी सार्वजनिक गरेको छ।

यो कदमले ट्रम्प प्रशासनले कानूनी रूपमा प्राप्त नागरिकतालाई समेत उल्ट्याउने कडा नीति अवलम्बन गर्दै अपराध तथा सुरक्षा सवालमा ‘शून्य सहनशीलता’ देखाउन खोजेको संकेत गर्दछ।