३० जेष्ठ २०८३, शनिबार
13 June 2026, Saturday

एयर इंडिया विमान दुर्घटनाबारे प्रारम्भिक रिपोर्ट सार्वजनिक,इन्धन आपूर्ति र इन्जिन बन्द हुँदा दुर्घटना

एयर इंडिया विमान दुर्घटनाबारे प्रारम्भिक रिपोर्ट सार्वजनिक,इन्धन आपूर्ति र इन्जिन बन्द हुँदा दुर्घटना

भारत- गत महिनाको एयर इंडिया विमान दुर्घटनाबारे भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (AAIB) ले प्रारम्भिक १५ पृष्ठको रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार, विमानको टेकअफपछि दुबै इञ्जिनको फ्युल कन्ट्रोल स्विच ‘रन’ अवस्थाबाट अचानक ‘कट-ऑफ’ मा गएको थियो।

ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कोलाई “कट-ऑफ किन गर्‍यौ?” भनी सोधेको र जवाफमा “मैले त गरिन” भन्ने आवाज रेकर्ड भएको उल्लेख गरिएको छ। यद्यपि कुन आवाज कुन पाइलटको हो भन्ने स्पष्ट छैन।

दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो, केवल एक जना मात्र जीवित बच्न सफल भए। टेकअफपछि विमानको इञ्जिन बन्द भएपछि र्याम एयर टरबाइन (RAT) सक्रिय भएको थियो। एयर ट्राफिक कन्ट्रोललाई ‘Mayday’ सन्देश पठाइएको भए पनि जवाफ पाउनुभन्दा पहिल्यै विमान खसेको थियो।

पाइलटहरू उडानका लागि योग्य प्रमाणित भएका थिए र ईन्धनको गुणस्तर पनि सन्तोषजनक भेटिएको रिपोर्टमा उल्लेख छ।

यद्यपि, रिपोर्टले दुर्घटनाको सटीक कारण अझै खुलाएको छैन। यो प्राविधिक गडबडी, सफ्टवेयर त्रुटि वा मानवीय गल्तीको परिणाम थियो कि होइन भन्ने थप अनुसन्धान आवश्यक रहेको स्पष्ट गरिएको छ।

एयर इन्डियाले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ।