२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

चीनबाट अमेरिका छिर्ने अवैध आप्रवासीहरूको वृद्धिले ‘राष्ट्रिय सुरक्षा संकट’ निम्त्याएको विज्ञको चेतावनी

चीनबाट अमेरिका छिर्ने अवैध आप्रवासीहरूको वृद्धिले ‘राष्ट्रिय सुरक्षा संकट’ निम्त्याएको विज्ञको चेतावनी

वाशिङ्टन— बाइडेन प्रशासनको कार्यकालमा दक्षिणी सिमानाबाट अमेरिका प्रवेश गर्ने चिनियाँ अवैध आप्रवासीको सङ्ख्या अत्यधिक बढेको छ, जुन अब ‘राष्ट्रिय सुरक्षा संकट’ को रूपमा हेरिन थालेको छ। सीमा सुरक्षा विशेषज्ञहरू र पूर्व अधिकारीहरूले चीनबाट अमेरिकी भूमिमा गैरकानुनी रूपमा भित्रिएका हजारौँ आप्रवासीहरूलाई चिन्ताजनक बताउँदै चेतावनी दिएका छन्।

– डरलाग्दो तथ्याङ्क र अपराधसँगको सम्बन्ध

अमेरिकी आप्रवासन र सीमा सुरक्षा निकाय (ICE) ले जुन ३ मा १२२ चिनियाँ अवैध आप्रवासीहरूलाई चीन फिर्ता पठाएको छ। तीमध्ये धेरैजसो हत्या, बलात्कार, लागूऔषध ओसारपसार र मानव तस्करीमा दोषी ठहर भइसकेका थिए। उनीहरूलाई “उच्च जोखिमको विशेष उडानमार्फत” चीन पठाइएको थियो।

यसै सन्दर्भमा अमेरिकी न्याय विभागले हालै ७ चिनियाँ नागरिकमाथि बहु मिलियन डलरको भांग तस्करी र अवैध आप्रवासन गिरोह सञ्चालन गरेको अभियोग लगाएको छ। आरोप अनुसार, ती व्यक्तिहरूले चीनबाट अमेरिका–मेक्सिको सीमामार्फत अवैध कामदार भित्र्याई पूर्वी अमेरिका भर भांग खेतीका घरहरूमा अवैध श्रम शोषण गरेका थिए।

– विज्ञको चेतावनी: यो केवल आप्रवासनको मुद्दा होइन

हेरिटेज फाउन्डेशनको सीमा सुरक्षा तथा आप्रवासन केन्द्रकी प्रमुख लोरा राइसले एक अन्तर्वार्तामा यो अवस्थालाई “पूर्णरूपमा राष्ट्रिय सुरक्षा संकट” को रूपमा परिभाषित गरिन्।

उनले भनिन्, “बाइडेनको कार्यकाल अघि अमेरिकाले प्रति महिना करिब १,००० चिनियाँ नागरिक पक्रने गर्थ्यो। अहिले त्यो सङ्ख्या एक महिनामा ८,००० पार गरिसकेको छ।”

– चिनियाँ कम्युनिष्ट पार्टीको शंका

राइसले चिनियाँ कम्युनिष्ट पार्टी (CCP) ले खुला सीमाको फाइदा उठाएर नियोजित रणनीतिका साथ ‘खतरनाक मनसाय भएका चिनियाँ नागरिकहरू’ अमेरिका पठाएको हुनसक्ने शंका व्यक्त गरिन्।

उनका अनुसार, “फेन्टानिलका कच्चा पदार्थहरू चीनबाट मेक्सिको हुँदै अमेरिका पठाइन्छ, वुहानबाट आएको कोभिड–१९, अमेरिकामा स्पाइ बलून, र सैनिक आधार छेउको जमिन किन्नेजस्ता कार्यहरूले CCP को नियत स्पष्ट देखिन्छ।”

– भयावह वृद्धि

होमल्यान्ड सेक्युरिटी समितिको रिपोर्ट अनुसार:

-सन् २०२४ को मार्चमा मात्रै, चिनियाँ नागरिकसँगको सीमा भेटघाट ८,०००% ले बढेको थियो, सन् २०२१ को मार्चको तुलनामा।
– सन् २०२४ को आर्थिक वर्षमा मात्रै २४,३७६ चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिइएको, जसमध्ये २४,२१४ जना पक्राउ परेका थिए।

अहिलेको अवस्था केवल आप्रवासनको विषय होइन, राष्ट्रिय सुरक्षाको विषय भएको सीमा विशेषज्ञहरूको धारणा छ। बाइडेन प्रशासनको ‘खुला सीमा नीति’ लाई लिएर आलोचना तीव्र भइरहेको छ। चिनियाँ आप्रवासीहरूको वृद्धिले अमेरिका भित्र क्राइम नेटवर्क, मानव तस्करी, लागूऔषध कारोबार जस्ता गम्भीर अपराधको खतरा झनै बढाएको विज्ञहरूको चेतावनी छ।

अमेरिकी जनमानसमा चिन्ताको विषय बनेको यो मुद्दा आगामी निर्वाचनमा राजनीतिक बहसको केन्द्रविन्दु बन्न सक्ने संकेत देखिएको छ।