फ्लोरिडा — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले निर्माण गरेको नयाँ आप्रवासी थुनुवा केन्द्र ‘एलिगेटर अल्काट्राज’ मा थुनुवामाथि अत्यन्त अमानवीय व्यवहार भएको आरोप लागेको छ।
थुनुवा, मानवअधिकारकर्मी, वकिल र परिवारजनहरूले उक्त केन्द्रमा खाना फोहोर, शौचालयको नालि जाम, थुनुवालाई लामो समयसम्म ननुहाई राख्ने, आवश्यक औषधि नदिने, र वकिल तथा परिवारजनसँग भेटघाट गर्न रोक लगाउनेजस्ता गम्भीर आरोप लगाएका छन्।
फ्लोरिडाको दलदली क्षेत्रमा बनाइएको उक्त केन्द्र गत जुलाई २ देखि सञ्चालनमा आएको हो। केन्द्रमा रहेका थुनुवाले आफूहरूले “जुजस्तै पिंजडामा” थुनिएको, झ्याल नभएको कोठामा २४ घण्टा राखिने र हातखुट्टा बाँधेर मात्र बाहिर लैजाने गरिएको बताएका छन्।
एक भेनेजुएली थुनुवाले ‘एपी’ समाचार संस्था मार्फत भनेका छन्, “यहाँको वातावरणले मानसिक तनाव पैदा गर्छ। खानेकुरामा किरा भेटिन्छ, नुहाउने सुविधा छैन, शौचालय नचल्दा भुइँमै दिसा–पिसाब पोखिन्छ।”
मानवअधिकार वकिलहरूका अनुसार थुनुवाहरूलाई आत्म-डिपोर्टेसन गर्न मानसिक दबाब दिइँदैछ। कतिपयलाई बिना कारण ‘पनिस्मेन्ट सेल’ मा राखिएको छ भने बालबालिका, महिलाहरू, र आपराधिक रेकर्ड नभएका व्यक्तिहरू समेत यो केन्द्रमा थुनिएको पाइएको छ।
फ्लोरिडा आपतकालीन व्यवस्थापन प्राधिकरण (DEM) की प्रवक्ता स्टेफनी हार्टम्यानले भने सबै आरोप अस्वीकार गरेकी छन्। उनका अनुसार केन्द्रमा “खाना, पानी, औषधि र अन्य सबै आवश्यक सुविधा” प्रदान गरिएको छ।
तर थुनुवाका वकिल तथा परिवारजनहरूले भने वास्तविकता पूर्ण रूपमा फरक रहेको जिकिर गर्दै केन्द्रभित्रका अवस्थाबारे स्वतन्त्र अनुसन्धानको माग गरेका छन्।
केन्द्रमा भेट गर्न गएका वकिलहरूलाई समेत प्रवेश नदिएको गुनासो छ। कतिपयलाई दुई दिन पर्खन भनिएको छ तर त्यस्तो कुराको कुनै आधिकारिक सम्पर्क वा मिति दिएको छैन।
राष्ट्रपति ट्रम्प र गभर्नर रोन डीस्यान्टिसले यस केन्द्रलाई “अवैध आप्रवासी नियन्त्रणमा कठोर नीति” को आदर्श मानेका छन्। तर, आलोचकहरू भन्छन् — यो केन्द्र आप्रवासीलाई “मानसिक रूपमा थिचेर” देश छोड्न बाध्य पार्ने रणनीतिको हिस्सा हो।
अमेरिकी आप्रवासन कानुन तथा मानवअधिकारसम्बन्धी कानुन विशेषज्ञहरूले समेत यो केन्द्रमा भएका व्यवहार अमेरिकी संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार सन्धिहरूको गम्भीर उल्लङ्घन भएको चेतावनी दिएका छन्।