२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

क्यालिफोर्नियाका दुई फार्ममा छापा : ३१९ अवैध आप्रवासी पक्राउ, बालश्रमकाे शङ्का

क्यालिफोर्नियाका दुई फार्ममा छापा : ३१९ अवैध आप्रवासी पक्राउ, बालश्रमकाे शङ्का

लस एन्जलस — क्यालिफोर्नियाको भेन्चुरा र सान्ता बार्बरा काउन्टीमा अवस्थित दुई फार्ममा अमेरिकी आप्रवासन अधिकारीहरूले गरेको ठूलो छापामा ३१९ जना अवैध आप्रवासी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये केही बालबालिका पनि थिए, जसलाई संभावित बालश्रम र मानव तस्करीको सिकार बनाइएको आशंका गरिएको छ।

गृह सुरक्षा विभाग (DHS) की सचिव क्रिस्टि नोएमले शनिबार पुष्टि गर्दै भनिन्, “ग्लास हाउस फार्ममा गरिएको छापामा १४ बालबालिकालाई उद्धार गरिएको छ। अधिकारीहरूमाथि आक्रमण, हिंसा र गोलीसमेत प्रहार भएको थियो।”

भेन्चुरा काउन्टीको ग्रामीण क्षेत्रमा गरिएको छापामा प्रतिरोधसमेत देखिएको थियो। कैयौं प्रदर्शनकारीले बाटो छेकेपछि प्रहरी र आप्रवासन अधिकारीबीच झडप भयो। चार जना प्रदर्शनकारीलाई अधिकारीमाथि आक्रमण र अवज्ञाको आरोपमा पक्राउ गरिएको छ।

उक्त अपरेशनको क्रममा बन्दुकधारी एक व्यक्तिले गोली चलाएको पुष्टि भएको छ र एफबीआईले ती व्यक्तिको खोजीका लागि ५० हजार डलर इनाम घोषणा गरेको छ।

अधिकारीहरूले बताए अनुसार पक्राउ परेका केही व्यक्तिलाई विभिन्न अस्पताल वा थुनुवा केन्द्रहरूमा सारिएको छ।

अधिकारीहरूका अनुसार उद्धार गरिएका बालबालिकालाई सम्भावित बालश्रम, तस्करी वा दुरुपयोगबाट बचाइएको हो। ग्लास हाउस फार्मले भने आप्रवासन अधिकारीसँग सहयोग गरेको बताएको छ।

संयुक्त किसान श्रमिक यूनियन (UFW) ले बालश्रमको गम्भीर आशंका व्यक्त गर्दै घटनाबारे स्वतन्त्र कानुनी अनुगमनको माग गरेको छ।

“बालबालिकालाई थुनेर वा निर्वासित गरेर बालश्रमको समाधान हुँदैन,” यूनियनले जनाएको छ।

उक्त कारबाहीको क्रममा एक फार्म मजदुरको छानाबाट खसेर मृत्यु भएको छ। ३० फिट उचाइबाट खस्दा  ३२ वर्षीय खजुरिया कामदार जयमे अलानिस गार्सियाको टाउको र गर्दनमा गम्भीर चोट लागेको थियो।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले ट्रम्प प्रशासनको यस कदमको कडा आलोचना गर्दै यसलाई “आतङ्क र विभाजनको रणनीति” भनेका छन्।

उनले सामाजिक सञ्जालमार्फत लेखे, “हामी बालश्रममा संलग्न अपराधीलाई कारबाही गर्छौं। तर ट्रम्पको टोली त बालबालिकालाई फोटो खिच्न लगाउँछ, अश्रुग्यास फ्याँक्छ र बालविरोधी नीति प्रचार गर्छ।”

एनबीसी न्यूजका अनुसार पछिल्ला छ महिनामा अमेरिकाभर ५५ हजारभन्दा बढी आप्रवासीलाई ICE ले पक्राउ गरिसकेको छ। तीमध्ये २८ प्रतिशतमा आपराधिक रेकर्ड रहेको, २५ प्रतिशतमा मुद्दा चलिरहेको र बाँकी ४७ प्रतिशत ‘अन्य आप्रवासन उल्लङ्घनकर्ता’ सूचीमा छन्।

क्यालिफोर्नियामा मात्र १०.६ मिलियन आप्रवासी छन्, जसमध्ये १८ लाख सन् २०२२ सम्ममा कागजविहीन (undocumented) भएको पिउ रिसर्च सेन्टरको अनुमान छ। राज्यका झन्डै आधा कृषि मजदुरहरू अवैध रूपमा बसोबास गरिरहेको युसी मर्सेडको अनुसन्धानले देखाएको छ।