अवैध आप्रवासीद्वारा CBP अफिसरमाथि गोली प्रहार, आरोपीलाई अस्पताल बाहिर फालिएको भिडियो सार्वजनिक
- ०६ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – एक अवैध आप्रवासीद्वारा अफ-ड्युटी कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन अफिसरमाथि गरिएको गोली प्रहारको घटनासँग सम्बन्धित भिडियो अमेरिकी होमल्याण्ड सुरक्षा विभागले सार्वजनिक गरेको छ। भिडिओमा एक घाइते व्यक्ति मोपेडबाट अस्पतालको इमर्जेन्सी प्रवेशद्वार बाहिर फालिएको स्पष्ट देखिन्छ।
घटनास्थलको भिडियोमा देखिन्छ, रातो रंगको सर्ट लगाएका एक व्यक्ति कालो मोपेडमा घाइतेलाई लिएर आउँछन् र अस्पतालको ढोकामा ती घाइतेलाई फालेर फरार हुन्छन्। DHS का अनुसार, यही मोपेड अफिसरमाथि भएको आक्रमणमा पनि प्रयोग गरिएको थियो।
घटनाका मुख्य आरोपी मिगुएल फ्रान्सिस्को मोरा नुनेज हुन्, जो सन् २०२३ मा गैरकानुनी रूपमा अमेरिकामा प्रवेश गरेका थिए। उनले न्युयोर्कको फोर्ट वासिंगटन पार्कमा CBP अफिसरमाथि लुटपाटको प्रयास गर्दा गोली प्रहार गरेका थिए। अफिसरले आत्मरक्षाका लागि जवाफी गोली चलाउँदा दुबै व्यक्ति घाइते भएका थिए। अफिसरको अनुहार र हातमा गोली लागेको थियो, तर उनको अवस्था खतरामुक्त रहेको अधिकारीहरूले जनाएका छन्।
घटनापछि अनुसन्धानमा संलग्न अर्का व्यक्ति क्रिस्टियन आयबर बेरोआ पनि पक्राउ परेका छन्। उनी सन् २०२२ मा डोमिनिकन गणराज्यबाट अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए र विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए। उनलाई यसअघि नै निष्कासन आदेश दिइएको भए पनि, न्युयोर्कको स्यान्क्चुअरी नीति अन्तर्गत ICE को अनुरोधलाई अस्वीकार गर्दै छाडिएको थियो।
DHS ले विज्ञप्ति जारी गर्दै भनेको छ, “यी व्यक्तिहरूले अमेरिकी कानूनको सम्पूर्ण कठोरता भोग्नेछन्। अमेरिकी जनताको सुरक्षामा खतरा पुर्याउने अपराधीहरूका लागि कुनै सहानुभूति देखाइने छैन।”
न्युयोर्कमा घटेको यो घटना पछिल्लो समय अमेरिकी आप्रवासन नीति र स्यान्क्चुअरी शहरहरूबारे पुनः बहसको विषय बन्न पुगेको छ।