२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

अमेरिकाको विशेष आप्रवासी किशोर कार्यक्रममा व्यापक दुरुपयोग, USCIS को प्रतिवेदनकाे खुलासा

अमेरिकाको विशेष आप्रवासी किशोर कार्यक्रममा व्यापक दुरुपयोग, USCIS को प्रतिवेदनकाे खुलासा

वाशिङ्टन – अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले (USCIS) सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा विशेष आप्रवासी किशोर (Special Immigrant Juvenile – SIJ) कार्यक्रममार्फत आपराधिक पृष्ठभूमि भएका व्यक्ति, गिरोहका सदस्य र आतंकवादी संलग्नता भएका विदेशी नागरिकहरूले अमेरिका प्रवेश गरेको खुलासा गरेको छ।

“Criminality, Gangs, and Program Integrity Concerns in Special Immigrant Juvenile Petitions” नामक प्रतिवेदनले सन् २०१३ को सुरु देखी सन् २०२५ फेब्रुअरीसम्म दर्ता गरिएका ३ लाखभन्दा बढी निवेदनहरूको समीक्षा गरेको छ। यस अनुसन्धानमा निम्न कुराहरू पत्ता लागेका छन्:

– FY 2024 मा आधाभन्दा बढी निवेदकहरू १८ वर्षभन्दा माथिका थिए।
– धेरैजसो अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए।
– थुप्रै आवेदकहरू त्यस्ता देशबाट आएका थिए जुन राष्ट्रिय सुरक्षा दृष्टिकोणले चिन्ताजनक मानिन्छन्।
– केहीले आफ्नो नाम, जन्म मिति, नागरिकता जस्ता व्यक्तिगत विवरणहरूमा ठगी (फ्रड) गरेका थिए।

सबैभन्दा गम्भीर कुरा, USCIS का अनुसार ८५३ जना शंकास्पद वा प्रमाणित गिरोह सदस्यहरूले SIJ कार्यक्रम अन्तर्गत स्थायी बसोबासको लागि आवेदन दिएका थिए, जसमध्ये अधिकांशको निवेदन स्वीकृत भएको थियो। तीमध्ये:

– ६०० भन्दा बढी MS-13 गिरोहका सदस्य थिए, र ५०० भन्दा बढीलाई अनुमोदन गरिएको थियो।
– १०० भन्दा बढी 18th Street गिरोह सदस्य, Tren de Aragua, Sureños र Norteños गिरोहका सदस्यहरूसमेत समावेश थिए।

USCIS का प्रवक्ता म्याथ्यु ट्रागेसरले भने, -“बालबालिकाको सुरक्षाको नाममा बनाइएको कार्यक्रममा आपराधिक पृष्ठभूमि भएका विदेशीहरूले नागरिकताको बाटो पाइरहेका छन्। यसमा कानुनी कमजोरी र केही अदालतहरूको निर्णयले दुरुपयोग बढाएको छ।”-

USCIS ले २०२४ जुन ६ मा SIJ निवेदकहरूलाई स्वतः ‘deferred action’ दिने नीति रद्द गरिसकेको छ। साथै, ट्रम्प प्रशासनले कार्यक्रमको विश्वसनीयता जोगाउन र राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै थप कडा कदम चाल्ने तयारी गरिरहेको जनाएको छ।

SIJ कार्यक्रम सन् १९९० मा स्थापना गरिएको हो, जसअन्तर्गत ती अवैध बालबालिकालाई स्थायी बसोबास दिने प्रावधान छ, जसलाई बालअदालतले अभिभावकबाट बेवास्ता, दुर्व्यवहार वा परित्याग भएको ठहर गर्छ। तर, SIJ स्वीकृतिका लागि कुनै आपराधिक पृष्ठभूमि जाँच वा नैतिक आचरणको आवश्यकता कानूनले तोकेको छैन।

विशेषज्ञहरूका अनुसार यो कार्यक्रमले बालबालिकालाई सुरक्षा दिने आफ्नो मूल उद्देश्यबाट विचलित हुँदै अपराधीहरूको आश्रयस्थल बन्न थालेको छ, र तत्काल सुधार आवश्यक देखिन्छ।