२६ जेष्ठ २०८३, मङ्लबार
9 June 2026, Tuesday

रूसमा भूकम्पपछि जापान र अमेरिकामा सुनामीको खतरा: यी प्राणघातक छालहरू कसरी आउँछन्?

रूसमा भूकम्पपछि जापान र अमेरिकामा सुनामीको खतरा: यी प्राणघातक छालहरू कसरी आउँछन्?

न्युयोर्क- रूसको पूर्वी कामचाट्का प्रायद्वीप नजिक ८.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। यसका कारण सो क्षेत्रका विभिन्न स्थानहरूमा ठूलो लहरसहितको सुनामी देखिएको छ।

भूकम्पको प्रभाव जापानसम्म महसुस गरिएको छ। सतर्कता अपनाउँदै जापानको फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक विद्युतगृह खाली गराइएको छ। स्मरण रहोस्, सन् २०११ मा जापानमा ९ म्याग्निच्युडको भूकम्प आएपछि त्यहाँ ठूलो आणविक दुर्घटना भएको थियो।

-अमेरिका र अन्य देशहरूमा सुनामी चेतावनी

अमेरिकाले अलास्का र हवाई राज्यमा सुनामीको चेतावनी जारी गरेको छ भने गुआम र माइक्रोनेशिया द्वीपहरूलाई ‘सुनामी वाच’ मा राखिएको छ। हवाई राज्यका गभर्नर जोश ग्रीनले जनतालाई शान्त रहन र उच्च स्थानमा जान अनुरोध गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सतर्क रहन आग्रह गरेका छन्।

चीन, फिलिपिन्स, इन्डोनेसिया, पेरु, इक्वेडर र ग्यालापागोस टापुहरूमा समेत विभिन्न स्तरको सुनामी चेतावनी जारी गरिएको छ।

अहिलेसम्म हवाई क्षेत्रमा सुनामीको प्रत्यक्ष असर देखिएको छैन, तर मानिसहरू सुरक्षाका लागि बाहिर जान थालेका छन्। विज्ञहरूका अनुसार यदि हवाईमा सुनामी आइहाले पनि यसको प्रभाव सीमित र कम विनाशकारी हुनेछ।

-जापानमा देखिए प्रारम्भिक लहरहरू

रूसमा गएको भूकम्पपछि जापानको होक्काइडो प्रान्तमा प्रारम्भिक सुनामी छालहरू देखिएका छन्, जसको उचाइ झण्डै ४० सेन्टिमिटर थियो। फुकुशिमा क्षेत्रमा भएको आणविक मलबा तथा सम्भावित रेडिएशनका कारण आणविक केन्द्रहरू खाली गरिएका छन्। समुद्री तट नजिकका क्षेत्रका बासिन्दाहरूलाई उच्च स्थानमा जान तथा समुद्रबाट टाढा रहन निर्देशन दिइएको छ।

-कमचाट्काको इतिहास र पछिल्लो क्षति

यो भूकम्प सन् १९५२ मा कामचाट्कामा आएको ९ म्याग्निच्युडको भूकम्पजस्तै शक्तिशाली मानिएको छ। रूसको सुदूर पूर्वी भागमा केही मानिस घाइते भएका छन् भने सेवेरो कुरिल्स्क क्षेत्रमा बाढी र पेत्रोपाभलोभ्स्क क्षेत्रमा भवनहरूमा क्षति पुगेको छ। प्रशासनले अवस्था निगरानीमा राखेको छ।

-सुनामी कसरी उत्पन्न हुन्छ?

सुनामी समुद्रमा उत्पन्न हुने धेरै ठूलो र उचाइयुक्त छालहरूको समूह हो। जब समुद्रको भित्री सतहमा अचानक ठूलो हलचल हुन्छ – जस्तै भूकम्प, ज्वालामुखी विस्फोट, समुद्री भूस्खलन या उल्कापात – तब समुद्रको पानी माथि उठ्न थाल्छ र एक शक्तिशाली छालको श्रृंखला उत्पन्न हुन्छ। यी छालहरू अत्यधिक गतिमा तटीय क्षेत्रमा प्रवेश गर्छन्।

‘सुनामी’ शब्द जापानी भाषाबाट आएको हो — ‘सू’ (समुद्र तट) र ‘नामी’ (छाल)। सामान्य छालहरू ग्रहहरूको गुरुत्वाकर्षणका कारण बनिन्छन्, तर सुनामी भूगर्भीय घटनाहरूका कारण उत्पन्न हुन्छन्।

भूकम्प सुनामीको सबैभन्दा सामान्य कारण हो, विशेषगरी जब यसको केन्द्र समुद्रभित्र वा यसको नजिक पर्छ। टेक्टोनिक प्लेटहरू जहाँ-जहाँ एक आपसमा जुध्छन्, त्यहाँ समुद्री सतह बढी संवेदनशील हुन्छ। उदाहरणका लागि, सुमात्रा जहाँ अष्ट्रेलियाली प्लेट, यूरेशियन प्लेट र फिलिपिनी प्लेट भेटिन्छन्, विगतमा पनि त्यहाँ सुनामीको विनाशकारी असर देखिएको छ।

जब समुद्रको सतह हठात् खिस्कन्छ, त्यहाँका पानीहरू माथि उठ्न थाल्छन्। यी छालहरू समुद्रको गहिराइबाट उठेर तटीय क्षेत्रतर्फ तीव्र गतिमा आउँछन् र तटीय शहर, वन, भवन जस्ता संरचनालाई तहसनहस पार्न सक्छन्। यस्तो बेलामा छालको उचाइ ३० मिटरसम्म पुग्न सक्छ।

तर, प्रत्येक भूकम्पले सुनामी ल्याउँछ भन्ने छैन। यसको लागि भूकम्पको केन्द्र समुद्रभित्र वा तटीय क्षेत्रमा हुनु अनिवार्य छ।

भूकम्प र सुनामीजस्ता प्राकृतिक प्रकोपहरू सधैं अप्रत्याशित हुन्छन्। यस्ता आपत्कालीन अवस्थामा सजग रहनु, सूचनाको पालना गर्नु र सुरक्षित स्थानमा जानु सबैभन्दा महत्त्वपूर्ण उपाय हो। वैज्ञानिकहरूले यस्ता घटनाहरूको सटीक पूर्वानुमान गर्न नसके पनि, अनुभव र डेटा आधारमा जोखिमयुक्त क्षेत्रहरूबारे चेतावनी दिन सक्ने अवस्था पुगेका छन्।