२६ जेष्ठ २०८३, मङ्लबार
9 June 2026, Tuesday

गाजामा मानवीय सङ्कट चरममा : संयुक्त राष्ट्रसङ्घ

गाजामा मानवीय सङ्कट चरममा : संयुक्त राष्ट्रसङ्घ

न्युयोर्क –  गाजा सहरमा इजरायली सेनाको आक्रमणका कारण राहत सामग्री प्राप्त गर्न पर्खिरहेका सयौँ प्यालेस्टिनी नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जनाएको छ । रिपोर्ट अनुसार, मे २७ सन् २०२५ यता मात्र करिब एक हजार ३७३ जना नागरिक मारिएका छन्, जसमा ८५९ जना अमेरिका समर्थित राहत केन्द्रको वरिपरि र ५१४ जना सहायता गाडी चल्ने बाटोमा मारिएका हुन् । यीमध्ये अधिकांश युवा र बालक छन्, जो आफ्ना परिवारलाई भोकमरीबाट बचाउन सङ्घर्षरत थिए ।

मानवीय अधिकार संस्थाहरूले इजरायली सेनामाथि भोकलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्, भने राहत वितरण केन्द्रहरूमा दिनहुँजसो हुने हिंसाले गम्भीर मानवीय संकट सिर्जना गरेको उल्लेख गरिएको छ ।

यता, इजरायली सुरक्षाकर्मीहरूले राहत केन्द्रमा आफ्नो उपस्थिति वितरण सहज बनाउनका लागि मात्र भएको दाबी गरेका छन् । गाजाको अवस्था गम्भीर बन्दै जाँदा, अमेरिकी दूत स्टिभ विटकोफ र जर्मन विदेश मन्त्रीको इजरायली प्रधानमन्त्रीसँगको भेटमा बन्धकको सकुशल उद्धार र राहत पुर्‍याउनुपर्ने आग्रह पनि गरिएको छ ।

बाइस महिनादेखिको इजरायल–गाजा द्वन्द्वमा हालसम्म ६० हजार भन्दा बढी गाजावासीको मृत्यु भइसकेको जनाइएको छ र अहिले भने भोककै कारण मृत्यु हुन थालेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले चेतावनी दिएका छन् ।