अमेरिकाको दक्षिणी सीमामा पक्राउ दर ऐतिहासिक रूपले घट्यो, ट्रम्प प्रशासनले विजयको रूपमा ब्याख्या
- १७ साउन २०८२
- २ मिनेटको पढाई
वासिङ्टन- अमेरिकी दक्षिणी सीमामा आप्रवासीको अनधिकृत प्रवेश नियन्त्रण गर्ने प्रयासमा एक ठूलो मोड आएको छ। जुलाई महिनामा अमेरिकी सीमा सुरक्षाले जम्मा ४,३९९ जनालाई मात्र पक्राउ गरेको जनाइएको छ, जुन हालसम्मकै न्यून मासिक संख्या हो।
अमेरिकी सीमा गस्ती प्रमुख माइकल बैंक्सले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा पोस्ट गर्दै उक्त संख्या जुन महिनाको ६,०७० जनाको अघिल्लो रेकर्डभन्दा पनि कम भएको उल्लेख गरे। जुलाईमा दैनिक औसत १४१ मात्र पक्राउ परेको छ, जबकि २०२३ को डिसेम्बर महिनामा बाइडन कार्यकालको चरम समयमा केही दिन १०,००० भन्दा बढी पक्राउ परेका थिए।
पछिल्ला तीन महिनादेखि ‘जीरो रिलीज’ नीति लागू गरिएको छ – अर्थात् पक्राउ परेका कुनै पनि आप्रवासीलाई भित्र प्रवेश दिइएको छैन। ट्रम्प प्रशासनका समर्थकहरू यसलाई सुरक्षा नीतिको सफलता मानिरहेका छन्। “अब सीमा फेरि सुरक्षित भएको छ, नीति कडा भए सीमा शान्त हुन्छ,” टेक्ससका रिपब्लिकन सांसद मोर्गन लुट्रेलले भने।
ट्रम्पको दोस्रो कार्यकाल प्रारम्भसँगै सीमा क्षेत्रमा सैनिक परिचालन गरिएको छ। साथै, पहिले प्रयोग हुने ‘CBP One’ नामक एप (जसको प्रयोग गरी शरणको माग गरिन्थ्यो) बन्द गरी त्यसको स्थानमा ‘CBP Home’ नामक नयाँ एप ल्याइएको छ, जसले आप्रवासीहरूलाई आत्म-निर्वासन गर्न प्रोत्साहन गर्छ।
अपराधमा संलग्न नभएका आप्रवासीलाई देशबाहिर जान $१,००० नगद र निःशुल्क यात्रा सुविधा दिने नीति अहिले लागू गरिएको छ।
यसैबीच, डेमोक्र्याट नेताहरूले आश्रय नीतिहरूमाथि संघीय प्रशासनबाट भइरहेका कारबाहीमा आपत्ति जनाएका छन्।
हालै पारित ट्रम्प समर्थित ‘One Big Beautiful Bill Act’ अन्तर्गत सीमा सुरक्षाका लागि अर्बौं डलर विनियोजन गरिएको छ, जसमा बाइडन कालमा राज्यहरूले व्यहोरेका खर्चहरू फिर्ता दिने प्रावधानसमेत छ।
यसअन्तर्गत ICE (अप्रवासन तथा भन्सार प्रवर्तन) ले हजारौं नयाँ एजेन्ट भर्ना गर्न तयारी थालेको छ।
विश्लेषकहरूका अनुसार यो परिवर्तन अमेरिकाको आप्रवासन नीतिमा ‘नाटकीय मोड’ हो, जसले घरेलु राजनीतिमा समेत दीर्घकालीन प्रभाव पार्न सक्छ।