यमनमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६८ जनाको मृत्यु
- १९ साउन २०८२
- १ मिनेटको पढाई
दुबई- यमनमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको आप्रवासनमामिला हेर्ने निकायले सोमबार दुर्घटनाबारे जानकारी दिएको छ ।
राष्ट्रसंघीय निकायका अनुसार डुङ्गामा अधिकांश इथियोपियालीहरू थिए भने डुङ्गा डुबेपछि दर्जनौँ अझै बेपत्ता छन् ।
हालसम्म डुङ्गामा सवार १५७ मध्ये ६८ जनाको मृत्यु हुनुका साथै १२ जनालाई उद्धार गरिएको तथा बेपत्ताहरूको खोजीकार्य जारी रहेको अन्तराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) अभियानका देशीय निर्देशक अब्दुसाट्टोर एसोभलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
यसअघि आइतबार दक्षिणी यमनको अब्यान प्रान्तको सुरक्षा स्रोतहरूले आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको जनाएका थिए ।
सन् २०१४ देखि यमनमा चलिरहेको युद्धको कारण आप्रवासन समस्या बढेको जनाइएको छ । हजारौँले खाडी देशहरूमा पुग्ने आशामा जिबूटीबाट यमनसम्मको ‘पूर्वी मार्ग’ रेड सी पार गरेर जाने गर्छन् ।
प्रान्तको सुरक्षा निर्देशनालयले समेत यमनको अब्यानको तटमा डुबेको डुङ्गामा अधिकांश इथियोपियाली आप्रवासीहरू रहेको पुष्टि गरेको छ ।
आइतबार सुरक्षा बलले शवहरू निकाल्ने र जिवितहरुको उद्धार गर्ने अभियान चलाइरहेको बताएको थियो ।
गत महिना आप्रवासीहरूलाई बोकेको डुङ्गामा रेड सीमा तस्करहरूले आक्रमण गरेपछि कम्तिमा ८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सीले जनाएको छ ।