२६ जेष्ठ २०८३, मङ्लबार
9 June 2026, Tuesday

पाकिस्तानमा बाढीका कारण, १४० बालबालिका सहित २९९ जनाको मृत्यु

पाकिस्तानमा बाढीका कारण, १४० बालबालिका सहित २९९ जनाको मृत्यु

इस्लामाबाद- पाकिस्तानका धेरै भागहरूमा आएको बाढी र मुसलधारे वर्षाका कारण १४० बालबालिका सहित कम्तिमा २९९ जनाको मृत्यु भएको छ । ७०० भन्दा बढी घाइते भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आइतबार जनाए अनुसार जुन २६ बाट सुरु भएको बाढीले ‘देशभर विनाशको निशाना छोडेको’ बताएको छ । मृत्यु हुनेमा १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन्।

बाढीले १,६७६ घरहरूलाई पनि क्षति पुर्याएको छ, जस मध्ये ५६२ पूर्ण रूपमा नष्ट भएका छन् र १,११४ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।बाढीका कारण ४२८ पशुधनको पनि क्षति भएको छ, जसले प्रभावित समुदायहरूको लागि कठिनाइलाई थप बढाएको छ। एनडीएमएले २२३ उद्धार कार्यहरू सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रहरू बाट २,८८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ।