२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिकी आव्रजन हिरासत केन्द्रहरूमा सयौं मानवअधिकार उल्लंघनको आरोप, सिनेटर असफको रिपोर्ट सार्वजनिक

अमेरिकी आव्रजन हिरासत केन्द्रहरूमा सयौं मानवअधिकार उल्लंघनको आरोप, सिनेटर असफको रिपोर्ट सार्वजनिक

वासिङटन- अमेरिकी सिनेटर जोन असफको कार्यालयले गरेको ६ महिनाको अनुसन्धानबाट आव्रजन हिरासत केन्द्रहरूमा ५१० वटा विश्वासयोग्य मानवअधिकार उल्लंघनका घटना फेला परेको नयाँ रिपोर्टमा उल्लेख गरिएको छ। यसमध्ये ४१ घटनामा शारीरिक वा यौन दुर्व्यवहार, १८ घटनामा बालबालिकाको दुव्र्यवहार (अमेरिकी नागरिक र गैरनागरिक दुवै) र १४ घटनामा गर्भवती महिलामाथि दुर्व्यवहारका आरोप छन्।

रिपोर्टमा भीडभाडका कारण गर्भवती महिलालाई भुइँमा सुताउन बाध्य पारिएको, आवश्यक उपचार नदिइएको, गर्भपतन भएपछिको पीडामा समेत ढिला उपचार गरिएकोजस्ता घटनाहरू वर्णन गरिएको छ। एक गर्भवती बन्दीले उपचारको अनुरोध गर्दा “पानी मात्र पिउन” सुझाइएको बताएकी छन्।

यसमा ११ वर्षीया मस्तिष्क ट्युमर उपचाररत अमेरिकी बालिका र चौथो चरणको क्यान्सर भएको ४ वर्षीय अमेरिकी बालकलाई पर्याप्त उपचार र औषधि नदिइएको गम्भीर आरोप पनि समावेश छन्।

रिपोर्टमा टेक्सास र क्यालिफोर्नियाका हिरासत केन्द्रहरूमा कुटपिट, यौन आक्रमणको धम्की, ‘स्ट्रेस पोजिसन’ प्रयोग गरेर सजाय दिने जस्ता घटनाहरू पनि समावेश छन्।

गृह सुरक्षा विभाग (DHS) ले भने यी आरोपहरूलाई असत्य भन्दै सबै हिरासतमा रहेका व्यक्तिलाई पर्याप्त खाना, स्वास्थ्य सेवा, र कानुनी तथा पारिवारिक सम्पर्कको सुविधा उपलब्ध गराइने दाबी गरेको छ।

असफले, “आप्रवासन नीतिमा मतभेद भए पनि अमेरिकी जनताले बन्दी र कैदीमाथि हुने दुर्व्यवहारलाई समर्थन गर्दैनन्,” भन्दै बन्दीहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्न आवश्यकतामा जोड दिएका छन्।