अमेरिका र रुवाण्डाबीच २५० जना प्रवासी स्वीकृत गर्ने सम्झौता
- २१ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिका र रुवाण्डाले अमेरिकी भूमिबाट निष्कासन गरिएका अधिकतम २५० जना प्रवासीलाई अफ्रिकी राष्ट्रले स्वीकार गर्ने सम्झौता गरेका छन्। रुवाण्डाका अधिकारीका अनुसार यो सम्झौता गत जुन महिनामा राजधानी किगालीमा हस्ताक्षर भएको हो, जसअन्तर्गत वासिङ्टनले पहिलो चरणमा १० जनाको सूची पठाइसकेको छ।
रुवाण्डा सरकारकी प्रवक्ता योलान्दे माकोलोले displacement को अनुभव अधिकांश रुवाण्डाली परिवारले भोगेकाले पुनःस्थापना र पुनर्वासलाई देशको मूल्य प्रणालीको हिस्सा मानिने बताइन्। स्वीकृत व्यक्तिहरूलाई रोजगारी तालिम, स्वास्थ्य सेवा र आवास सहायता दिइनेछ।
यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिको हिस्सा हो, जसअन्तर्गत अपराधी र अवैध रूपमा बसोबास गरिरहेका लाखौं मानिसलाई तेस्रो देशमा पठाउने योजना अघि बढाइएको छ। तर अधिकारकर्मीहरूले रुवाण्डामा मानवअधिकार सम्मानबारे चिन्ता व्यक्त गर्दै यस्तो कदमलाई जोखिमपूर्ण र क्रूर भनेका छन्।
यसअघि सन् २०२२ मा रुवाण्डाले बेलायतसँग शरणार्थी लिने सम्झौता गरेको थियो, तर कानुनी चुनौतीका कारण कुनै पनि व्यक्ति पठाइनसक्दै उक्त योजना रद्द भएको थियो।