२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

एयर क्यानडाका उडान सहायकहरूको हडतालले सम्पूर्ण सेवा ठप्प, यात्रुहरू प्रभावित

एयर क्यानडाका उडान सहायकहरूको हडतालले सम्पूर्ण सेवा ठप्प, यात्रुहरू प्रभावित

टोरन्टो- एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीहरूले पारिश्रमिक तथा कामको उचित मूल्यांकनको माग गर्दै शनिबारदेखि राष्ट्रव्यापी हडताल सुरु गरेका छन्। हडताल सुरु भएपछि एयर क्यानडाले सबै उडानहरू स्थगित गर्दै यात्रुहरूलाई विमानस्थल नजान आग्रह गरेको छ।

क्यानडियन युनियन अफ पब्लिक इम्प्लोइज (सियुपिई)का अनुसार शनिबार बिहान १२:५८ बजेबाट आन्दोलन औपचारिक रूपमा सुरु गरिएको हो। कम्पनीले आन्दोलन सुरु हुनुअगावै शुक्रबार साँझसम्म ६२३ उडान रद्द गरिसकेको थियो भने शनिबारका लागि तोकिएको सम्पूर्ण ७०० उडान पनि रद्द गरिएका छन्।

यात्रु सेवाका क्रममा बोर्डिङ र तयारीका कामहरूमा पारिश्रमिक नदिइने परिपाटी हटाइनुपर्ने तथा मुद्रास्फीतिलाई मध्यनजर गर्दै तलब समायोजन गरिनुपर्ने युनियनको प्रमुख माग हो। युनियनका अनुसार एयर क्यानडाले पेस गरेको प्रस्ताव महँगीदरभन्दा पनि तल रहेको छ।

विशेषज्ञहरूका अनुसार यो आन्दोलन लामो नजाने अनुमान छ, तर यसले मुलुकको आन्तरिक यातायात, पर्यटन र व्यापार क्षेत्रमा तत्काल प्रभाव पार्ने देखिन्छ। व्यावसायिक महासंघले यस्तो समयमा हवाई यातायात रोकिँदा आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ।