जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता
- ३१ साउन २०८२
- १ मिनेटको पढाई
युक्रेन- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमवार अमेरिका भ्रमण गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताएका छन्।
शनिवार जारी एक आधिकारिक वक्तव्यमा जेलेन्स्कीले भने, “मैले सोमवार वाशिङ्टन, डीसीमा राष्ट्रपति ट्रम्पसँग भेटघाट गर्नेछु र युद्ध तथा हत्या रोक्नका लागि आवश्यक सबै विषयमा विस्तृत छलफल गर्नेछु। यो सम्मानजनक निमन्त्रणा पाउँदा म हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”
उनले यसअघि ट्रम्पसँग प्रारम्भिक रूपमा भएका संवादहरूलाई ‘गम्भीर र फलदायी’ भएको उल्लेख गर्दै, पछिल्लो चरणमा युरोपेली नेताहरू पनि सहभागी भई वार्ता थप प्रभावकारी बनेको जानकारी दिए।
यो भेटवार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा तीन दिनअघि सम्पन्न वार्तापछि तय गरिएको हो। अलास्काको बैठकमा अहिलेसम्म कुनै स्पष्ट युद्धविराम घोषणा वा ठोस सहमति भएको छैन।
राष्ट्रपति जेलेन्स्कीले युरोपेली साझेदारहरूलाई वार्ताका सबै चरणमा सहभागी गराउन आग्रह गर्दै, आफू ट्रम्प र पुटिनसँग त्रिपक्षीय वार्ताका लागि पूर्णतः तयार रहेको दोहोर्याए। “महत्वपूर्ण विषयहरू नेताहरूको तहमा सिधा छलफल गर्न आवश्यक छ,” उनले भने, “त्रिपक्षीय वार्ताको ढाँचा प्रभावकारी र उपयुक्त हुनेछ।”
उक्त उच्चस्तरीय भेटवार्ताबाट युक्रेन युद्ध अन्त्यका प्रयासहरूलाई गति मिल्ने र अन्तरराष्ट्रिय शान्ति पहलमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।