युक्रेन र सहयोगीहरू ट्रम्प–पुटिन अलास्का वार्तापछि असमञ्जसमा
- ०१ भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अलास्कामा सम्पन्न ट्रम्प–पुटिन भेटवार्तापछि अमेरिकाले रुसतर्फ झुकेको संकेत देखाएपछि युक्रेन र उसका युरोपेली सहयोगीहरू असमञ्जसमा परेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो अडान (पहिले युद्धविराम र त्यसपछि शान्ति सम्झौता) उल्ट्याउँदै प्रत्यक्ष शान्ति सम्झौताका लागि अघि बढ्ने संकेत दिएका छन्, जसले अमेरिकालाई क्रेमलिनको धारासँग मिलाएको देखिन्छ।
यसको प्रतिक्रियामा, युरोपेली नेताहरूले सोमबार वाशिंगटनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई साथ दिने घोषणा गरेका छन्। भेटमा नाटो प्रमुख मार्क रुट्टे, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन, बेलायती प्रधानमन्त्री कियर स्टार्मर, जर्मन चान्सलर फ्रिड्रिख मर्ज, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रों, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी र फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब सहभागी हुनेछन्।
मर्जको कार्यालयले वक्तव्य जारी गर्दै भनेको छ,“वार्तामा सुरक्षा ग्यारेन्टी, भौगोलिक मुद्दा र युक्रेनलाई निरन्तर सहयोगबारे छलफल हुनेछ।”
यद्यपि, अमेरिकी सुरक्षा ग्यारेन्टीबारे छलफल भए पनि ट्रम्पले नाटो सदस्यताबारे कुरा अघि सार्न नमानेको स्रोतहरूले जनाएका छन्। स्रोतका अनुसार, ट्रम्पले“अमेरिकी सेनालाई युक्रेनमा खटाउने विकल्प भने विचार गरेका छैनन्।”
जेलेन्स्कीले भने रुसले युद्धविराम अस्वीकार गरेको र निरन्तर आक्रमणले वार्ता जटिल बनाएको बताएका छन्। उनले शनिबार एक्समा लेखेका छन्,“रुसले युद्ध रोक्ने कुनै संकेत दिएको छैन। यसले अवस्था थप जटिल बनाइरहेको छ।”
भुइँस्तरमा रहेका युक्रेनी नागरिकहरूले अलास्का भेटको“प्रतीकात्मक असर” ले निराश बनाएको बताएका छन्।
किभकी नताल्या लिपेई भन्छिन्,“मलाई आशा थियो कि अमेरिकाले शत्रुलाई रातो कार्पेट बिछ्याउने थिएन। कसरी यस्तो तानाशाहलाई स्वागत गर्न सकिन्छ?”