अलास्का शिखर सम्मेलनमा पुटिनका अङ्गरक्षकहरूले ‘पूप सुटकेस’ बोके : रिपोर्ट
- ०२ भदौ २०८२
- १ मिनेटको पढाई
मस्को- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अलास्का शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अङ्गरक्षकहरूले उनको मल फोहोर सङ्कलन गर्न विशेष सुटकेस बोकेका थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ।
द एक्सप्रेस युएसका अनुसार यो अनौठो सुरक्षा उपायको उद्देश्य विदेशी शक्तिहरूलाई पुटिनको स्वास्थ्यबारे जानकारी लिनबाट रोक्नु हो। रिपोर्टमा भनिएको छ, ‘पुटिनका अङ्गरक्षकहरूले विदेश यात्रामा उहाँले प्रयोग गरेका मानव फोहोरहरू सङ्कलन गर्छन्, विशेष झोलामा भण्डारण गर्छन् र सुटकेसमार्फत रुस फर्काउँछन्।’
फ्रान्सेली प्रकाशन ‘पेरिस म्याच’ का पत्रकार रेजिस जेन्टे र मिखाइल रुबिनलाई उद्धृत गर्दै यो अभ्यास नयाँ नभएको बताइएको छ। सन् २०१७ मा पुटिनको फ्रान्स भ्रमणमा समेत यस्तो उपाय प्रयोग भएको थियो।
पत्रकार फरिदा रुस्तामोभाले पनि पुटिनले भियना भ्रमणका क्रममा पोर्टेबल शौचालय प्रयोग गरेको बताएका छन्। उनले स्रोतलाई उद्धृत गर्दै भने, ‘राष्ट्रपतिले सन् १९९९ देखि नै यस्तो अभ्यास सुरु गर्नुभएको थियो।’
पुटिनको उमेर ७२ वर्ष भइसकेको छ र उहाँको स्वास्थ्यबारे लगातार अड्कलहरू भइरहेका छन्। गत वर्ष कजाकिस्तानको अस्तानामा पत्रकार सम्मेलनमा उनको खुट्टा अनियन्त्रित रूपमा हल्लिएको देखिएपछि पार्किन्सन रोगजस्ता न्युरोलोजिकल समस्या हुनसक्ने चर्चा चलेको थियो।
यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय बैठकमा पुटिनलाई आफ्नो सिटमा अस्वाभाविक रूपमा हल्लाइरहेको देखिएको थियो। सन् २०२२ मा त क्रेमलिनले सामाजिक सञ्जालमा फैलिएका ‘स्वास्थ्यसम्बन्धी अफवाहहरू’ खारेज गर्न आधिकारिक रूपमा वक्तव्य नै जारी गरेको थियो।
सुरक्षा र स्वास्थ्यसम्बन्धी यस किसिमको खबर फेरि चर्चामा आउनु भनेको पुटिनको नेतृत्व र व्यक्तिगत अवस्थाबारे बाहिरी अनुमान अझै जारी रहेको सङ्केत हो।