युक्रेन – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेंस्कीले पश्चिमी सहयोगीहरूबाट सुरक्षा ग्यारेन्टीबारे छिटो प्रगति हुनुपर्ने बताएका छन्। तर, सम्भावित शिखर वार्ता स्थलमध्ये एकलाई उनले “चुनौतिपूर्ण” भन्दै अस्वीकार संकेत गरेका छन्।
जेलेंस्कीले बुधबार कीभमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी ७ देखि १० दिनभित्र सुरक्षा ग्यारेन्टीको संरचना स्पष्ट हुन चाहन्छौं।” यो बयान अमेरिकी र युरोपेली सैन्य अधिकारीहरूको बैठकबीच आएको हो।
तर, बिहीबार उनले भने, “मस्कोले अझैसम्म वास्तविक वार्ता गर्न चाहन्छ भन्ने कुनै संकेत दिएको छैन।”
रूसका माग र अडान
रूसी परराष्ट्रमन्त्री सेर्गेई लाभरोभले युक्रेनलाई असैन्यीकरण गर्नुपर्ने र पश्चिमसँगको गठबन्धन प्रयास त्याग्नुपर्ने पुरानै माग दोहोर्याए।
“युक्रेन तटस्थ, गैर–आणविक र कुनै सैन्य गठबन्धनमा नरहने हुनुपर्छ,” उनले भने। साथै, पुटिन–जेलेंस्की भेट त्यस्ता मागहरू अघि नै सम्बोधन गर्नुपर्ने बताए।
लाभरोभले कीभ र उसका सहयोगीहरूले राष्ट्रपति ट्रम्पको शान्ति प्रयासलाई कमजोर पारिरहेको आरोप पनि लगाए।
ट्रम्पको भूमिका र अमेरिकी प्रस्ताव
ट्रम्पले युरोपेली नेताहरूलाई अमेरिका युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन तयार हुने आश्वासन दिएका छन्। तर, यसमा अमेरिकी सेनाको भौतिक तैनाथी नहुने, बरु हवाई समर्थनसमेतको सम्भावना रहने स्पष्ट भएको छ।
जेलेंस्कीले भने, सहयोगीहरूको सुरक्षा ग्यारेन्टीबारे स्पष्टता पाएपछि मात्र पुटिनसँग भेट्न तयार हुने बताए। “यदि पुटिन तयार भएनन् भने, मैले अमेरिकाबाट कडा प्रतिक्रिया देख्न चाहन्छु,” उनले जोड दिए।
वार्ता स्थलमा असहमति
संभावित शिखर वार्ताको स्थान हाल प्रमुख विवाद बनेको छ।
अमेरिकी अधिकारीका अनुसार वाशिङ्टनले हंगेरीको बुडापेस्ट र स्विट्जरल्यान्डको जेनेभालाई विकल्पका रूपमा अगाडि सारेको छ। तर, जेलेंस्कीले भने बुडापेस्टलाई “चुनौतिपूर्ण” भनेका छन्, कारण हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानको क्रेमलिनसँग नजिक सम्बन्ध र युक्रेनप्रतिको कमजोर समर्थन।
“स्विट्जरल्यान्ड, अष्ट्रिया हामीलाई स्वीकार्य छन्। टर्की पनि स्वीकार्छौं,” उनले भने।
रूसी आक्रमण जारी
वार्ताको सम्भावना कमजोर देखिँदै गर्दा, रूसले बुधबार राति वर्षकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको युक्रेनी सेनाले जनाएको छ।
करिब ६०० ड्रोन र ४० क्षेप्यास्त्र प्रहार गरिएका थिए। पश्चिमी क्षेत्र झाकार्पाटियामा अवस्थित एक अमेरिकी व्यवसायिक प्रतिष्ठानमा प्रहार हुँदा कम्तीमा १५ जना घाइते भए। लिभिभमा भने एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको गभर्नर माक्सिम कोजित्स्कीले जानकारी दिएका छन्।
जेलेंस्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “रूसले यो आक्रमण गर्दा जस्तो लाग्यो कि विश्वभरि युद्ध रोक्न भइरहेका प्रयासहरू कतै पनि छैनन्।”