ब्रिस्टलमा आप्रवासीविरोधी र समर्थन प्रदर्शन आमनेसामने
- ०८ भदौ २०८२
- १ मिनेटको पढाई
लन्डन – ब्रिस्टलको क्यासल पार्कमा होटलमा आश्रयार्थी राख्ने सरकारी योजनाविरुद्ध आयोजित आप्रवासीविरोधी प्रदर्शनलाई ठूलो संख्यामा विरोध समूहले घेरो हालेका छन्।
आप्रवासीविरोधी प्रदर्शनमा करिब ५० जना मात्रै भेला भए पनि करिब २५० जनाले त्यसको प्रतिवादमा प्रदर्शन गरेका थिए।
एभन र समरसेट प्रहरीले “कतिपय क्षणमा अव्यवस्था देखिए पनि ठूलो घटना नभएको” जनाएको छ। एक महिलालाई आपतकालीन कार्यकर्तामाथि आक्रमणको आशंकामा पक्राउ गरिए पनि पछि अन्य पक्राउ परेकासँगै ‘डि-अरेस्ट’ गरिएको बताइएको छ।
दुवै पक्षबीच झडप हुन नदिन करिब दुई घण्टासम्म घोडचढी प्रहरीले ग्यालरीज कारपार्कनजिक सडक बन्द गरेर अवरोध खडा गरेको थियो। केही अधिकारीमाथि आक्रमण भएको रिपोर्ट भए पनि गम्भीर चोट नपरेको र थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।
प्रमुख निरीक्षक कीथ स्मिथले “हाम्रो प्राथमिकता दुवै पक्षलाई शान्तिपूर्ण ढंगले कानुनी प्रदर्शन गर्न दिने थियो” भन्दै अफिसरहरूको व्यावसायिकताको प्रशंसा गरेका छन्।
ब्रिस्टल सिटी काउन्सिलका नेता टोनी डायरले भने शहरलाई “लामो समयदेखि आश्रय दिने ठाउँ” भएको बताउँदै “हामी विविधतामा गर्व गर्छौं र आश्रय खोज्ने मानिसलाई सहयोग र सुरक्षा दिन प्रतिबद्ध छौं” भनेका छन्।