रूसी मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा दुईको मृत्यु, ३३ घाइते
- ०९ भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- युक्रेनमाथि भएका पछिल्ला रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। सोमबार राति खार्किभ, ड्निप्रोपेत्रोभ्स्क, सुमी र खेरसोन क्षेत्र आक्रमणको मुख्य लक्ष्य बने।
खार्किभको कुपिआन्स्क शहरमा एक वृद्धको मृत्यु भयो भने दुई जना घाइते भए। ड्निप्रोपेत्रोभ्स्कको ड्रोबिशेभ गाउँमा एक जनाको ज्यान गयो र तीन जना घाइते भए। सुमी क्षेत्रमा १० जना र खेरसोनमा ३ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। खेरसोनमा मात्रै ४३ बस्तीमाथि आक्रमण भएको बताइएको छ।
युक्रेनी सेनाले भने रूसले प्रक्षेपण गरेका १०४ मध्ये ७६ वटा ड्रोन खसालेको दाबी गरेको छ। तीमध्ये प्रायः ‘शाहेद’ प्रकारका आक्रमणकारी ड्रोन थिए।
युद्ध चौथो वर्षमा प्रवेश गर्दा पनि कूटनीतिक पहलले ठोस परिणाम दिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेट गराउने प्रयास गरे पनि वार्ता रोकिएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ता नै शान्ति प्रक्रियाको “सबैभन्दा प्रभावकारी बाटो” हुन सक्ने बताएका छन्।