गाजामा अस्पतालमाथि इजरायली आक्रमण, पाँच पत्रकारसहित २० को मृत्यु
- ०९ भदौ २०८२
- १ मिनेटको पढाई
गाजा- गाजाको दक्षिणी क्षेत्रमा रहेको नास्सेर अस्पतालमाथि इजरायली सैन्य आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। मारिनेमा पाँच जना अन्तर्राष्ट्रिय संचारमाध्यमका पत्रकारसमेत रहेका छन्।
अधिकारीहरूले जनाएअनुसार पहिलो विस्फोट अस्पतालको माथिल्लो तल्लामा भएको थियो, जसमा उद्धारकर्मी र पत्रकारहरू परे। त्यसपछि घटनास्थलमा पुगेका अन्य उद्धारकर्मी र पत्रकारहरूलाई लक्षित गर्दै दोस्रो आक्रमण गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
मृतकमध्ये रॉयटर्सका क्यामेराम्यान हुशाम अल–मास्री, एसोसिएटेड प्रेसकी स्वतन्त्र पत्रकार मरियम दग्गा, अल–जजीराका क्यामेराम्यान मोहम्मद सलामा, साथै पत्रकार मोआज अबु ताहा र अहमद अबु अजीज रहेका छन्। रॉयटर्सका अर्को फोटोग्राफर हातेम खालिद घाइते भएका छन्।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले यस आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भन्दै कडा शब्दमा निन्दा गरेको छ। पत्रकार संरक्षण समिति (CPJ) का अनुसार २२ महिनादेखि चलिरहेको युद्धमा अहिलेसम्म १९० भन्दा बढी पत्रकारको मृत्यु भइसकेको छ।
इजरायली सेनाले भने आक्रमण भएको क्षेत्र नास्सेर अस्पताल नजिकै भएको पुष्टि गर्दै “पत्रकारलाई लक्षित नगर्ने” दाबी गरेको छ र प्रारम्भिक छानबिन सुरु भएको जनाएको छ। तर गाजाको स्वास्थ्य मन्त्रालयले बिरामी, चिकित्सक र सञ्चारकर्मीसमेत मारिएको भन्दै स्वास्थ्य सेवा अझ प्रभावित भएको चेतावनी दिएको छ।