२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिकी आप्रवासी भिसा नियममा नयाँ प्रावधान : अब बसोबास गर्ने देशमै अन्तर्वार्ता

अमेरिकी आप्रवासी भिसा नियममा नयाँ प्रावधान : अब बसोबास गर्ने देशमै अन्तर्वार्ता

न्युयोर्क- अमेरिकी विदेश मन्त्रालयले १ नोभेम्बर २०२५ देखि लागू हुने गरी आप्रवासी भिसा प्रक्रियामा नयाँ नियम ल्याएको छ। अबदेखि भिसा आवेदकहरूले आफ्नै बसोबासको देशस्थित अमेरिकी दूतावास/कन्सुलेटमा अन्तर्वार्ता दिनुपर्नेछ। आवेदकले चाहेमा आफ्नै नागरिकता भएको देशमा पनि अन्तर्वार्ता दिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि नेशनल भिसा सेन्टर (NVC) ले विभिन्न कारणले अन्तर्वार्ता अन्य देशका पोस्टहरूमा सार्ने अभ्यास गर्दै आएको थियो। नयाँ प्रावधानअनुसार, बसोबासकै आधारमा निश्चित कन्सुलर पोस्ट तोकिदिनेछ।

विदेश मन्त्रालयका वरिष्ठ अधिकारी पिटर नाभारोका अनुसार, “यो स्थायी र महत्त्वपूर्ण परिवर्तनले प्रक्रियालाई व्यवस्थित मात्र होइन, सुरक्षा प्रणालीलाई पनि मजबुत बनाउनेछ।”

कुन देशका लागि कहाँ अन्तर्वार्ता?

– अफगानिस्तान – इस्लामाबाद
– बेलारुस – वारस
– इरिट्रिया – एडिस अबाबा, नैरोबी
– हैटी – नासाउ
– इरान – अबु धाबी, अङ्कारा, येरेवन
– लिबिया – ट्युनिस
– नाइजर – आबिदजान
– उत्तर कोरिया – ग्वाङ्जाउ
– रूस – वारस, अल्माटी (IR-5), ताशकन्द (IR-5)
– सोमालिया, दक्षिण सुडान – नैरोबी
– सुडान – काहिरा
– सिरिया – अम्मान, बेरुत (सिरियन ट्राभल डकुमेन्ट भएका प्यालेस्टिनीका लागि)
– भेनेजुएला – बोगोटा
– यमन – जिबुती
– जिम्बावे – जोहान्सबर्ग

के परिवर्तन हुन्छ?

– पहिले नै तय भइसकेका अन्तर्वार्ता रद्द वा सारिने छैनन्।
– तर नयाँ नियम लागू भएपछि, अन्य कन्सुलर पोस्टमा अन्तर्वार्ता लिन चाहनेले NVC मार्फत निवेदन दिनुपर्नेछ।
– विशेष मानवीय वा चिकित्सकीय कारणमा मात्रै अपवादस्वरूप अन्यत्र अन्तर्वार्ता लिन अनुमति दिइनेछ।
– यो नियम डाइभर्सिटी भिसा (DV-2026) कार्यक्रमका आवेदकहरूमा पनि लागू हुनेछ।