बेइजिङमा शक्ति प्रदर्शन : पुटिन–सीको साथमा किमको उपस्थिति
- १७ भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बेइजिङ पुगेका छन्, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगै पश्चिमी देशविरुद्ध शक्ति प्रदर्शनमा भाग लिन लागेका छन्।
दोस्रो विश्वयुद्धको ८०औं वर्षगाँठको अवसरमा आयोजना गरिएको भव्य सैन्य परेडमा ईरानी राष्ट्रपति समेत सहभागी हुनेछन्। यसअघि पुटिनले सीलाई “प्रिय साथी” भन्दै दुबै देशबीचको सम्बन्ध इतिहासकै उच्चतम स्तरमा पुगेको बताएका थिए।
किमलाई बेइजिङ रेल स्टेसनमा दुर्लभ विदेश भ्रमणका क्रममा कालो कोट र रातो टाईमा मुस्कुराउँदै देखिएको थियो। परेडमा उनी सी र पुटिनसँगै तियानआनमेन गेटमा देखिने अपेक्षा गरिएको छ।
यसअघि सीले शाङ्घाई कोअपरेसन अर्गनाइजेसन (SCO) को सम्मेलन पनि आयोजना गरेका थिए, जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भए पनि परेडमा भने नगएका हुन्।
चीन र रूसले हालसालै ऊर्जा आपूर्ति, ग्याँस पाइपलाइन निर्माण र कूटनीतिक समन्वयमा सहकार्य थप गर्ने सम्झौता गरेका छन्।
दक्षिण कोरियाली गुप्तचर संस्थाले रूसको युद्धमा लड्दै करिब २,००० भन्दा बढी उत्तर कोरियाली सैनिक मारिएको दाबी गर्दै किमको यो भ्रमणलाई शीतयुद्धकालीन त्रिकोणीय एकताको पुनःप्रदर्शन भएको व्याख्या गरेको छ।