२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

ट्रम्पको दाबी : “मैले सात युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ”

ट्रम्पको दाबी : “मैले सात युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ”

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले यस वर्षको सुरुमा भारत-पाकिस्तानबीच व्यापारमार्फत तनाव रोक्न सफल भएको दाबी गर्दै, अहिलेसम्म सात युद्ध अन्त्य गराएको र त्यसका लागि नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।

शनिबार अमेरिकन कर्नरस्टोन इन्स्टिच्युटको संस्थापकहरूको रात्रिभोजमा बोल्दै उनले भने, “हामीले शान्ति सम्झौता गरिरहेका छौँ, युद्धहरू रोकिरहेका छौँ। भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचका युद्धहरू पनि रोकिएका छन्। भारत र पाकिस्तानलाई मैले व्यापारमार्फत रोकें। उनीहरू व्यापार गर्न चाहन्थे। दुवै नेतालाई म सम्मान गर्छु। तर हामीले रोकिएका युद्धहरूको सूची हेर्नुस्।”

ट्रम्पका अनुसार, आर्मेनिया-अजरबैजान, कोसोभो-सर्बिया, इजरायल-इरान, इजिप्ट-इथियोपिया, रुवान्डा-कङ्गोबीचका द्वन्द्वसमेत आफ्नो पहलमा रोकिएका हुन्। उनले भने, “यी सबै युद्ध, करिब ६० प्रतिशत व्यापारकै कारण रोकिएका हुन्।”

भारतबारे विशेष उल्लेख गर्दै उनले भने, “मैले भनेँ- यदि तपाईं आणविक हतियारसहित युद्ध गर्न चाहनुहुन्छ भने, कुनै व्यापार हुँदैन। त्यसपछि उनीहरू रोकिए।”

रुस-युक्रेन युद्धबारे उनले थपे, “मैले सात युद्ध रोकेको छु। अब बाँकी एक ठूलो युद्ध छ। यदि मैले यो पनि रोकेँ भने, नोबेल पाउनैपर्छ।”

यद्यपि, ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा यो युद्ध सजिलै समाधान हुने अपेक्षा गरे पनि वास्तविकता फरक भएको बताए।
“पुटिनसँग मेरो राम्रो सम्बन्ध छ। सुरुमा सजिलो लाग्यो तर निराश भएँ। तर, कुनै न कुनै तरिकाले हामी यसलाई पूरा गर्छौं,” उनले भने।

ऊर्जा नीतिलाई युद्धसँग जोड्दै उनले थपे, “तेल उत्खननले मूल्य घटाउँछ, र यसले युद्ध रोक्छ। तर, पुटिनबाट म निकै निराश छु। अहिले हरेक हप्तामा पाँचदेखि सात हजार मानिस मर्दैछन्।”

बेलायत भ्रमणका क्रममा पत्रकार सम्मेलनमा पनि उनले पुटिनप्रति असन्तुष्टि दोहोर्‍याउँदै भने, “पुटिनले धेरै मानिस मारिरहनुभएको छ। रुसी सैनिकहरू युक्रेनीभन्दा बढी संख्यामा मारिएका छन्।” ट्रम्पले जोड दिए, “यदि म राष्ट्रपति भएको भए यो युद्ध सुरु नै हुने थिएन। मेरो चार वर्षमा यस्तो कहिल्यै भएन।”

उनका अनुसार, अलास्कामा भएको शिखर सम्मेलनमा उनले पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्तामा बस्न आग्रह गरेका थिए, तर शान्ति सम्झौता सफल हुन सकेन।

रूसले सन् २०२२ फेब्रुअरीमा ‘असैन्यीकरण र विमुद्रीकरण’को नाममा युक्रेनमाथि ठूलो आक्रमण गरेपछि यो द्वन्द्व अझ चर्किएको हो। सन् २०१४ मा क्रिमिया कब्जापछि सुरु भएको युद्ध अहिले पनि डोनेट्स्क, लुहान्स्क र कुर्स्क क्षेत्रमा तीव्र लडाइँसहित जारी छ।