२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

न्युयोर्क – करिब दुई वर्षदेखि इजरायलले पीडा र निराशाको अन्धकार सहिरहेको थियो । तर बिहीबार बिहान तेल अभिवको ‘होस्टेज स्क्वायर’ खुशी, आँसु र राहतले भरियो – गाजामा रहेका बन्दीहरू मुक्त हुने खबरले ।

समाचार सार्वजनिक हुनासाथ भिडमा खुशीको चिच्याहट मच्चियो । श्याम्पेनका बोतल खोलिए, मिठाइ बाँडियो, अनि हाँसो र आलिङ्गनसँगै आँसु बग्यो ।

बन्दीहरू मुक्त गराउने अभियानकी प्रमुख इना जाङ्गाउकरले उत्साहपूर्वक भनिन्, “मतन घर आउँदै छ!” उनले हात आकाशतिर उठाएर ‘धन्यवाद!’ भन्दै भावनामा डुबिन् । वरिपरि समर्थक र बन्धकका परिवारहरू भीडिएका थिए ।

उनले भनिन्, “म मेरो छोरा मतनको गन्ध लिन चाहन्छु । मेरो एउटा सपना छ – उसलाई आफ्नै ओछ्यानमा सुतिरहेको देख्ने ।”

२०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि प्रियजनहरू अपहरणमा परेका थिए । त्यसयता यी परिवारहरू निरन्तर संघर्षमा छन् – विश्व नेतासँग भेटघाट, इजरायली नेतासँग बहस र प्रियजनलाई फर्काउने अडानमा अडिग ।

तर बिहीबार त्यो संघर्षको निर्णायक क्षण बन्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–हमासबीच बाँकी बन्दीहरू रिहाइको सम्झौता भएको घोषणा गरेलगत्तै स्क्वायरमा उत्साह र आशाको लहर फैलियो । सुरुमा अपहरणमा परेका २५० मध्ये २० जना अझै गाजामा जीवित छन्, २८ जनाको मृत्यु भइसकेको छ ।

‘होस्टेज स्क्वायर’मा राखिएको ‘काउन्टडाउन’ घडीले दुःखका क्षणहरू गन्दै आएको थियो, तर आज त्यो घडी स्वतन्त्रताको दिशामा बढ्दै थियो ।

रेबेका बोबोटले लेखिन्, “दुई वर्षदेखि म आफ्ना प्रियजनको जीवनका लागि लड्दै आएकी छु । यो त्यो क्षण हो – जब सानो केटाले बुबालाई अँगाल्छ, जब मेरो परिवार फेरि जीवित हुन्छ ।” उनका पति एल्काना अक्टोबर ७ मा अपहरणमा परेका थिए ।

उत्सवको केन्द्र ट्रम्प बने । धेरै इजरायलीले प्रधानमन्त्री नेतान्याहुलाई सम्झौतामा सहमत गराउन ट्रम्पको भूमिका प्रशंसा गरे । भीडले ‘धन्यवाद, ट्रम्प!’ भन्दै नाराबाजी गर्‍यो र उनलाई नोबेल शान्ति पुरस्कारको योग्य ठहर गर्‍यो ।

तर सबैभन्दा महत्वपूर्ण कुरा – अक्टोबर ७ पछि पहिलोपटक इजरायलमा आशा फर्किएको थियो । ‘होस्टेज स्क्वायर’मा लामो समयपछि मुस्कान र जीवन फर्किएको देखियो ।

पूर्व बन्दी ओमर वेन्कर्टले भने, “मलाई टाउकोदेखि खुट्टासम्म चिसो महसुस भइरहेको छ । हामी कति गहिरो खुसी महसुस गर्न सक्छौं, त्यो म कल्पना गर्न सक्दिनँ ।”