सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कडा कारबाही गरिने
- २३ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- बाढीपछिको विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह र गलत सूचना फैलाउनेविरुद्ध प्रहरीले कडा निगरानी थालेको छ। समाजमा घृणा र द्वेष फैलाउने भिडियो वा सामग्री पोस्ट तथा सेयर गर्नेहरूलाई पहिचान गरी कारबाही गर्न साइबर ब्युरोका डिएसपी गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरीले फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सञ्जालबाट भ्रामक सूचना नफैलाउन सचेत गराएको छ। विपद्का बेला राहत सङ्कलनको नाममा ठगी गर्ने र पीडितलाई थप मानसिक असर पर्ने सामग्री राख्नेलाई कडा कारबाही गरिने प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी भूपेन्द्रबहादुर खत्रीले विपद्को बेला नागरिकको जिउधनको सुरक्षामा प्रहरी अहोरात्र खटिएको बताए। उनले यस्तो बेला हुनसक्ने चोरी, ठगी, लागुऔषध कारोबार र तस्करी नियन्त्रणमा प्रहरी सक्रिय रहेको जानकारी दिए। यसै सक्रियताका कारण दाङको तुलसीपुरबाट ११ बोरा पटकासहित दुई जना र नवलपरासीको प्रतापपुरबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।