चीनको जियान्ग्सीमा पहिरो: ४ को मृत्यु, ९ बेपत्ता
- २३ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- पूर्वी चीनको जियान्ग्सी प्रान्तस्थित सुइचुआन काउन्टीमा शनिबार गएको भीषण पहिरो र बाढीमा परेर ४ जनाको मृत्यु भएको छ। घटनामा अन्य ९ जना अझै बेपत्ता छन्। त्यस्तै, याङफेन गाउँमा बेपत्ता भएका दुईमध्ये एक जनाको शव आइतबार दिउँसो भेटिएको छ।
अहिले प्रभावित क्षेत्रमा उद्धार र विस्थापितको व्यवस्थापन भइरहेको छ। अवरुद्ध सडक खुलाएर उपकरण र राहत सामग्री पुर्याउने काम तीव्र पारिएको उद्धारकर्मी वान कियाङले बताए। प्रभावित करिब २०० जनालाई सुरक्षित स्थानमा सारेर खाना, बास र स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ।
‘साउदेल’ चक्रवातपछिको भारी वर्षाले जियान्ग्सी प्रान्तका १ लाख ६१ हजार ५ सय बासिन्दा प्रभावित भएका छन्। थप जोखिम हुन नदिन ५ हजार ३ सयभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ।
विपद्को गम्भीरता हेरेर चीन सरकारले विपद् प्रतिकार्य स्तर बढाएर तेस्रो तहमा पुर्याएको छ। साथै, तत्काल उद्धार र राहतका लागि २ करोड युआन (करिब २९.५ लाख अमेरिकी डलर) बजेट छुट्याइएको छ।