संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि सुरु, नेपालले जलवायु न्यायको मुद्दा उठाउने
- २३ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ। यस वर्षको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारा तय गरिएको छ। यस पटकको सत्रको अध्यक्षता बङ्गलादेशका कूटनीतिज्ञ खालिलुर रहमानले गर्ने छन्।
महासभाको मुख्य कार्यक्रम सेप्टेम्बर १८ देखि २८ सम्म सञ्चालन हुने छ। यस क्रममा सेप्टेम्बर २२ देखि २६ सम्म विभिन्न देशका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यसूची छ। बैठकमा विश्व शान्ति, सुरक्षा, जनस्वास्थ्य, मानवीय सहायता तथा विश्वभर चलिरहेका युद्धका असरबारे गहन छलफल हुने छ। यस्तै, सेप्टेम्बर १८ मा दिगो विकास लक्ष्यको समीक्षा र सेप्टेम्बर २३ मा विशेष जलवायु सम्मेलन आयोजना गरिने छ। सम्मेलनमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकट समाधानका लागि विश्वव्यापी सहकार्यको आह्वान गर्ने छन्।
जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेको नेपालले यस महासभामा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दालाई प्राथमिकताका साथ उठाउने भएको छ। न्यून कार्बन उत्सर्जन गरेर पनि ठूलो मानवीय र भौतिक क्षति भोग्नुपरेका देशहरूको पक्षमा नेपालले जोडदार आवाज उठाउने तयारी गरेको छ।