२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: चार विमानस्थल बन्द, लाखौं यात्रु प्रभावित

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: चार विमानस्थल बन्द, लाखौं यात्रु प्रभावित

न्युयोर्क- इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी फेरि विस्फोट भएपछि अधिकारीहरूले चारवटा विमानस्थलको उडान सेवा बन्द गर्ने समय बढाएका छन्।

विमानस्थल सञ्चालक संस्थाका अनुसार जाकार्ताका सोकार्नो-हट्टा र हालिम पेरडानाकुसुमा, लाम्पुङको राडिन इन्टेन २ र बान्डुङको हुसेन सास्त्रनेगरा विमानस्थलका उडान रोकिएका हुन्।

मौसम विज्ञान निकायका अनुसार सोमबार बिहान पनि ज्वालामुखीको खरानी जाकार्तातर्फ उडिरहेको देखिएको छ। यसअघि ज्वालामुखी सक्रिय हुँदा १५ सयभन्दा बढी उडान अवरुद्ध भएका थिए भने करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका थिए।

जाभा र सुमात्रा टापुको बीचमा रहेको यो ज्वालामुखी पछिल्लो समय बारम्बार विस्फोट भइरहेको छ। सन् २०१८ मा यो ज्वालामुखी समुद्रमा खसेपछि आएको विनाशकारी सुनामीमा परेर ४ सयभन्दा बढी मानिसको ज्यान गएको थियो।