२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

अमेरिकी भिसा नपाएपछि रोहिणीले देहत्याग गरिन्

अमेरिकी भिसा नपाएपछि रोहिणीले देहत्याग गरिन्

भारत- भारतको आन्ध्र प्रदेशकी ३८ वर्षीया महिला चिकित्सक रोहिणीले अमेरिकी भिसा अस्वीकृत भएपछि हैदराबादस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी हुन्। शनिबार ढोका नखोलेपछि घरेलु कामदारले परिवारलाई खबर गरेपछि ढोका फोड्दा उनी मृत अवस्थामा भेटिएकी थिइन्।

प्रहरीले घरबाट बरामद गरेको सुसाइड नोटमा उनले डिप्रेसन र भिसा नपाएको पीडाबारे उल्लेख गरेकी छन्। प्रारम्भिक अनुमानअनुसार उनले अत्यधिक निद्राको चक्की सेवन गरेको वा आफैं सुई लगाएको हुन सक्ने देखिएको छ। शवको पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ।

उनकी आमा लक्ष्मीका अनुसार रोहिणी एक प्रतिभाशाली विद्यार्थी थिइन्। उनले सन् २००५ देखि २०१० बीच किर्गिस्तानमा एमबीबीएस पूरा गरेकी थिइन्। शैक्षिक रेकर्ड उत्कृष्ट भएकाले उनको भविष्यप्रति ठूलो आशा थियो। अमेरिकामा बिरामी संख्या कम र आम्दानी राम्रो हुने भएकाले त्यतै जाने सोच बनाएकी थिइन्। तर भिसा नपाएपछि पछिल्ला हप्ताहरूमा उनी निराश र एक्लो महसुस गरिरहेकी थिइन्।

अविवाहित रोहिणी पूरै करियरमा केन्द्रित थिइन्। चिल्कलगुडा प्रहरीले मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान सुरु गरेको छ।