इरानको युएईलाई कडा चेतावनी: आफ्नो भूमि प्रयोग गर्न दिए आक्रमण गर्ने
- ०७ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- इरानी सेनाले शनिबार संयुक्त अरब इमिरेट्स (युएई) लाई आफ्नो भूमिबाट इरान विरुद्ध कुनै पनि सैन्य आक्रमण हुन नदिन चेतावनी दिएको छ। यदि युएईको क्षेत्र प्रयोग गरी इरानमाथि हमला भएमा सिधै युएईमाथि नै जवाफी आक्रमण गर्ने इरानले स्पष्ट पारेको छ।
रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’ नजिकैका विवादित टापुहरू अबु मुसा र ग्रेटर टुनबलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद छ। इरानले खाडी मुलुकहरूलाई अमेरिकी सेनाका लागि आफ्नो क्षेत्र प्रयोग गर्न दिएको आरोप लगाउँदै आएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त हमलापछि मध्यपूर्वमा युद्ध चर्किएको हो। यसैको बदलामा इरानले खाडीमा रहेका अमेरिकी अड्डा र इजरायल लक्षित गरी निरन्तर मिसाइल तथा ड्रोन प्रहार गरिरहेको छ। युद्धका कारण विश्वकै प्रमुख तेल ढुवानी मार्गमा अवरोध सिर्जना भएको छ।