न्युयोर्कको विमानस्थलमा विमान र दमकल ठोक्किँदा दुईको मृत्यु, ४१ घाइते
- १० चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- आइतबार राति न्युयोर्कको लागार्डिया विमानस्थलमा एयर क्यानडाको विमान र दमकल आपसमा ठोक्किँदा दुई जना पाइलटको ज्यान गएको छ। दुर्घटनामा ४१ जना घाइते भएका छन्। अवतरण गरेलगत्तै दुर्घटनामा परेको उक्त विमानमा ७२ यात्रु र चार जना चालक दलका सदस्य थिए।
विमान धावनमार्गमा गुडिरहेको बेला अर्को विमानको समस्या सुल्झाउन जाँदै गरेको दमकलसँग ठोक्किएको थियो। अधिकारीहरूले बताए अनुसार विमानको गति त्यसबेला निकै कम थियो। घाइतेमध्ये ३२ जना उपचारपछि अस्पतालबाट घर फर्किएका छन्। दमकलमा रहेका दुई जना अधिकारीको अवस्था भने सामान्य छ।
उडान नियन्त्रकले सुरुमा दमकललाई धावनमार्ग पार गर्न अनुमति दिएको र लगत्तै एक्कासी रोकिन भनेको तथ्य फेला परेको छ। कुराकानीका क्रममा ती नियन्त्रकले आफूबाट गल्ती भएको स्वीकार गरेका छन्। यातायात सुरक्षा अधिकारीहरूले यस घटनाको अनुसन्धान गरिरहेका छन्। दुर्घटनापछि बन्द भएको विमानस्थल १४ घण्टापछि सोमबारदेखि फेरि सञ्चालनमा आएको छ।